विकासका बाचा र भ्रष्टाचारका बाढी

विकासका बाचा र भ्रष्टाचारका बाढी


  • दामोदर पौडेल

माओवादी आन्दोलन शुरु भएपछि अन्य धेरैले जस्तै पङ्क्तिकारले पनि एउटा खास आशा राखेको थियो । हिंसात्मक माओवादी–आन्दोलनमा जनताले साथ नदिऊन् भन्ने खातिर काङ्ग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरू अब इमानदार बन्लान् भन्ने लागेको थियो । तर, कथित ‘जनयुद्ध’को त्यो समय त तिनका लागि कमाउने मौका पो भएछ त । माओवादीको विरुद्धमा भएको भनिएको खर्चको त्यति छानबिन नहुने । त्यसबेला भएका विकास कार्यहरू पनि अनुगमन नहुने र जनताले पनि माओवादीको डरले विकासका कार्यबारे चासो लिनभन्दा ज्यान बचाउन नै ध्यान दिन हुँदा बरु माओवादीलाई पनि प्रतिशत दिएर कागजमा मात्र काम भएको देखाएर पनि पैसा खाने र भ्रष्टाचार गर्ने बानी बस्यो । यो संस्थागत नै बनिरहेको हो । माओवादीको कारणले काङ्ग्रेस–एमालेले राम्रो गर्लान् भन्दा त गोप्य रूपमा सबै मिलेर ढुकुटी सक्न सजिलो भयो ।

जनताले काङ्ग्रेस र एमालेलाई नै जे भए पनि आफ्ना मुक्तिदाता हुन् जसरी पालैपालो जिताउने गरेको पङ्क्तिकारले अनुभूति गऱ्यो । त्यति मात्र होइन, जनताले स्थानीय तहमा र केन्द्रमा समेत एउटाको रिसको आधारमा अर्कोलाई मत दिएको, तर राम्रोको आधारमा मत दिन नपाएको महसुस गरिएकै हो ।

त्यसै चरितार्थलाई काङ्ग्रेस र एमालेको दुईदलीय सर्वसत्तावादको संज्ञा दिनु स्वाभाविक हुन आउँछ । जनताले दुवैलाई चाहेका छैनन् । चाटुकारहरूको कारणले त्यसभन्दा बाहिर पनि जान सक्दैनन् । किनभने हरेक दुःखमा केही गर्न प्रशासनसमेत उनीहरूकै हातमा थिए । ती दुई दलको नजिक नहुनेहरूलाई प्रशासन र प्रहरीले पनि बेवास्ता गर्ने अवस्था थियो । यहाँनेर मलाई लगभग २५ वर्ष पहिला पाकिस्तानका बारेमा एकजना पाकिस्तानी लेखकले लेखेको र मैले पनि उधृत गरेको कुरा केही सम्झना छ कि पाकिस्तानका केही ठूला सहरमा बाहेक अरू ठाउँमा पीपीपी, मुस्लिम लिगबाहेक अरू दलका कार्यकर्ता वा ती दुई दलमा नलागेकाहरूको गुम्टी कसैले वा ती दलका मानिसले लुटेमा समेत न्याय माग्न कठिन थियो । यो अवस्था नेपालमा पनि आउँदै थियो ।

विकासको नाममा भ्रष्टाचार गर्ने कार्य त यी दुई दलका नेता र कार्यकर्ताको ठेक्काजस्तै थियो र मतियारहरू कर्मचारी र ठेकेदार थिए । पङ्क्तिकारलाई याद छ कि कुनै कल्भर्ट बनाउन आजभन्दा करिब २८ वर्ष पहिला जिल्ला विकास समितिबाट ४२ हजारको इस्टमेट भएकोमा पछि जिल्ला विकास समितिले सो काम गर्न नसक्दा कुनै समाजसेवीले सहयोग गर्दा रु. ८ हजारमा बन्ने कुरा भएको यियो । यो देश कसरी चलेको रहेछ र चल्छ भन्ने बुझ्न यो उदाहरण पर्याप्त छ । हुन पनि तलब कम छ । बच्चालाई पढाउन नै तलबले नपुग्ने ठाउँमा पढाउनेहरूले यताउति गर्नैपर्ने होला ।

मेरो दुईदलीय सर्वसत्तावादको अर्थ के भने बहुदलीय व्यवस्था भए पनि जनताले तिनै दुई दलहरूको मिलिभगतमा बाँच्न पर्ने र उनीहरूले मिलेर गल्ती र बेइमानी गर्दा पनि अर्को विकल्प खोज्न नसकिने र आवाज सुनाउन नसकिने । काङ्ग्रेसका देउवाले भन्सार छुटको व्यवस्था गरे, तर त्यसको फाइदा एमाले र काङ्ग्रेसले बराबर नै लिए । एमालेले गाउँमा बजेट पहिलाभन्दा बढी पठायो, तर फाइदा दुवै पक्षका मिलेर लिने नै भए । ती दुवैथरी मिलेपछि त बस्तीबस्तीमा आर्थिक अराजकता र अरूको कुरै नसुन्ने सर्वसत्तावाद नै देखिएको हो । हामी समर्थन नगरे पनि विरोध गर्न सक्ने अवस्थामा कम थियौँ वा विरोधको औचित्य नै हुँदैनथ्यो । विरोध गरेर पनि दुईवटा बेइमानभन्दा बाहिर अर्को भएमा मात्र केही काम लाग्दछ ।

माओवादीको हिंसात्मक गतिविधिले जनतामा दोहोरो त्राहीमाम भयो । उनीहरूले शुरुमा केही भने पनि काङ्ग्रेस र एमालेले गरेका गल्ती औँल्याएकोले ठिकै गरे भन्ने जस्तो लागेको थियो । तर, जब फाइदाको लागि माओवादी बन्ने र माओवादी बनेमा धेरै खत माफ हुने भयो तब माओवादीमा पनि जनताको आशाको सानो किरण पनि रहेन । एउटाकी पत्नी अर्कोसँग गएमा कसैलाई १०० पटक उठबस गराउने सजाय काफी भयो भने कतै भने मार्ने कामसमेत भयो । १०० पटक उठबसको सजाय पाउनेमा माओवादी थिए भन्नेसमेतका कुरा सञ्चारबाट नै जानकारी पाएको हो । मसँग माओवादीका साथीहरूले चन्दा मागेनन् भन्दा हुन्छ । माओवादीका संविधानसभा सदस्यसमेत हुन पुगेका जयराम दाहालले मसँग केही चन्दा दिने कि भन्ने आशय राख्दा मैले दिन नसक्ने बताएपछि पनि उनले मलाई कत्ति पनि नराम्रो सोचेनन् ।

प्रचण्डले लोकतन्त्र नभए ड्याम्–ड्याम विकास गर्ने बताएका थिए । तर, लोकतन्त्र हुँदा त ड्याम–ड्याम भ्रष्टाचार गर्ने नेताहरूले लोकतन्त्र नभए के–के गर्थे होला ? भावनामा बग्ने र पद तथा पैसालाई नै सबैभन्दा महत्व दिनेले कहिल्यै पनि सही निर्णय लिन सक्दैन । प्रचण्डको मनमा जनताको चिन्ता भएको भए आफू मात्र त्यति धनी हुने थिएनन् ।

एकजना अर्का साथी काङ्ग्रेस हुन् भन्ने मलाई लागेको थियो, तर उनले मसँग चन्दा मागेपछि उनी माओवादी रहेछन् भन्ने थाहा भयो । उनी थिए पत्रकार गम्भीरा सहनी । तर, मैले उनलाई पनि पैसा दिइनँ । मैले माओवादी भएर थुनिएका विदुर चौलागाईंलाई जेलबाट छुटेपछि २ बर्षजति कुनै भाडा नलिई घरमा बस्न दिएँ । उनलाई कसैले भाडामा बस्न नदिएकोले मैले बस्न दिएको थिएँ । रोगी भएका पर्साका माओवादी किसान नेता जगन्नाथ नेपाललाई मैले केही मात्रामा औषधि किन्नसमेतमा पैसा दिएको थिएँ र माओवादीकै वसन्त भण्डारीलाई मैले वार्ता विफल भएपछि भारत भाग्नको लागि भनेर पैसा र कपडा दिएको थिएँ । तर, मलाई केही काङ्ग्रेस र एमाले भन्ने भ्रम भएका साथीहरूको कारण उनीहरूसँगको बढी उठबसले अन्यथा सोचिन थालिएको रहेछ । यद्यपि म माओवादीहरूले भ्रष्टाचार र बेथिति बहुदलीय व्यवस्थाको आधारमा नै हटाइदिए हुन्थ्यो भन्ने मान्यता राख्थेँ ।

त्यही कारणले होला म भित्रभित्रै माओवादी भएको मानिसमा परेँछु । म घर नहुँदा, कतिपय अवस्थामा बच्चाहरू मात्र हुँदा प्रहरी र सेनाले घर खानतलासी गरेका रहेछन् । छोरीहरूले पुलिस अंकलहरू आएर हामीहरूको घर हेर्नुभयो भन्थे । छिमेकीहरूले पनि भने । बारामा जिल्ला सुरक्षा समितिमा सायद म मारिनुपर्ने र माओवादीको ठूलै सहयोगी भएको कुरा आएको रहेछ । सुनेअनुसार काङ्ग्रेसी नेता फर्मुल्लाह मन्सुरले दामोदर काङ्ग्रेस नहुन सक्दछन्, तर उनी माओवादी होइनन्, कम्युनिस्टसमेत होइनन् र हुनै सक्दैनन् भन्ने कुरा सुरक्षा समितिमा राखेपछि म बाँचेको रहेछु जस्तो लाग्दछ । तर, सुरक्षा निकायका मानिसले खानतलासी गर्दा नै म फेला परेको भए अहिले माओवादी शहीद भनिने वा हुने पक्का नै थियो ।

उता मेरो मूल घरमा डाका पऱ्यो । सामान्य जानकारी प्रहरीमा दिए पनि जाहेरी दिन खोज्दा माओवादीहरूले डाकाहरूलाई पत्ता लगाएर चोरी भएको सामान दिने विश्वास दिलाए । करिब १२ तोलाजति सुन र १ लाख रुपैयाँसमेत चोरिएको थियो । जब प्रहरीमा जाहेरी नै दिने निष्कर्षमा हामी पुग्यौँ तब उनीहरूले जाहेरी दिए मारिदिनेसमेतका धम्की दिए । मेरो माइलो भाइ त्यहाँ बस्नसमेत नसक्ने अवस्था भयो । बाराको जितपुरमा उनलाई ल्याउने काम भयो । जाहेरी दिन सकिएन । यसबाट त्यसमा माओवादीकै भूमिका थियो जस्तो महसुस भयो । केही डाकाको अनुमान गरिएकोमा उनीहरू माओवादीनजिकक रहेछन् सायद । यसरी माओवादी र राज्य दुवैबाट चेपुवामा परेको मेरो परिवार भयो । तर, मेरा दुवै भाइहरू काङ्ग्रेसमा नै थिए र कान्छो भाइ डाक्टर लक्ष्मीकान्त पौडेल काङ्ग्रेसमा नै सक्रिय छन् ।

हाम्रो परिवार नै लोकतन्त्र, बहुलवाद, समानता, विकास र शान्तिमा सैद्धान्तिक रूपमा आस्थावान छ । म आर्थिक रूपमा कम्युनिस्ट विचारबाट पहिलादेखि नै प्रभावित भएकोले आर्थिक साम्यवादको परिकल्पनामा आनन्द मान्छु । तर, लोकतन्त्र र बहुलवादको विरुद्धमा मेरो मत जान सक्दैन । सायद बीपीले भनेजस्तै साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ भन्ने पक्षमा मेरो आस्था बलियो छ ।

मेरो मार्क्सउपरसमेत ठूलो गुनासो र विमति पनि छ । आदिम साम्यवादबाट पुँजीवादको चरणमा पुग्न समाजलाई कुनै दार्शनिक चाहिएन । तर, पुँजीवादबाट साम्यवादमा जान माक्र्सको विचारको साहरा खोजियो । यो अनावश्यक बहस र त्यसप्रतिको झुकावले गर्दा पुँजीवादी देशहरूमा समाजवाद र साम्यवाद आउन ढिलो हुने भयो ।
किनभने साम्यवादको आर्थिक रूपसँगै अधिनायकवाद, विरोधीप्रति दुस्मनको व्यवहार आदि पनि आयो । यसैले गर्दा मानिस कम्युनिस्टहरूसँग डराए, विकसित देशमा अहिले समाजवाद र साम्यवादको अभ्यास हुने सम्भावना थियो, तर राजनीतिक साम्यवादले त्यसलाई पर धकेलिदियो । यदि कम्युनिस्टहरूको राजनीतिक आतङ्क नभएको भए अमेरिकामा अहिले आर्थिक साम्यवाद आइसकेको हुने थियो जस्तो लाग्दछ । अरू देश पनि त्यसै दिशमा अग्रसर हुने थिए । यद्यपि कुनै एक देशमा मात्र साम्यवादको परिकल्पना त्यति परिपक्व नहुन सक्दछ, तर सम्भावना नै नभएको भने होइन ।

कहिलेकाहीँ लाग्दछ कि देशमा कम्युनिस्टहरू इमानदारी साथ कम्युनिस्ट पार्टीमा लाग्दछन् । जब उनीहरूमा सत्ता, शक्ति र पैसा हुन्छ उनीहरूले त्यो बाटो छोड्छन् । उनीहरूका पिछलग्गुहरू पनि स्वतः जन्मन्छन् । तर, लोकतन्त्र र बहुलवादकै माध्यमबाट बहुदलीय व्यवस्था नै रहेर पूर्ण समानता सम्भव छ । त्यो मार्क्सले भनेजस्तै भने नहोला, तर बढी समानतामा आधारित भने हुन्छ । माक्र्सभन्दा पनि उनका अनुयायीहरूप्रति मेरो गुनासो भन्न उचित होला । किनभने विचारलाई अध्ययन गर्ने हो र विवेकपूर्ण रूपमा लागू गर्ने हो । त्यसैले मैले माक्र्सलाई दोष दिन खोज्दा गल्ती हुन्छ कि जस्तो पनि लाग्दछ । सबै कुराको आधार विकास हो । विकासलाई समानताले पुष्ट पार्दछ र आध्यामिकताले मनमा सधैँ राख्दछ ।

सायद कृष्णले गीतामा काममा अधिकार छ, तर फलको आशा नराख भन्नुको मूल मर्म पूर्ण विकास र समानतासँग जोडिएको छ ।

नेताहरू र विवेकशीलहरूले सोच्नैपर्दछ कि हामीले अरूबाट सिक्न तयार हुनुपर्दछ । तर, पदको मात्र चिन्ताले समाजलाई अग्रगमन दिँदैन । प्रचण्डले लोकतन्त्र नभए ड्याम्–ड्याम विकास गर्ने बताएका थिए । तर, लोकतन्त्र हुँदा त ड्याम–ड्याम भ्रष्टाचार गर्ने नेताहरूले लोकतन्त्र नभए के–के गर्थे होला ? भावनामा बग्ने र पद तथा पैसालाई नै सबैभन्दा महत्व दिनेले कहिल्यै पनि सही निर्णय लिन सक्दैन । प्रचण्डको मनमा जनताको चिन्ता भएको भए आफू मात्र त्यति धनी हुने थिएनन् । जनतालाई भ्रम र डर दिएर नै समस्या समाधान हुँदैन, बरु पीडा थप्ने काम हुन्छ । सुशीला कार्की ठिकै भन्छिन्– अस्वस्थ समाजमा लोकतन्त्र छ त्यसैले म जबर्जस्ती कसैको विचारको दास बन्न परेको छैन । लोकतन्त्र छ त्यसैले मैले मन नपरेको कुरालाई लोभ नहुँदा राम्रो भन्न परेको छैन । लोकतन्त्र छ त्यसैले मैले असल नेतालाई र अझ असल विचारलाई समर्थन गर्नबाट कसैले रोकेको छैन ।