‘ओभरटाइम ड्युटी’का कारण इन्डोनेसियामा २७० को मृत्यु

‘ओभरटाइम ड्युटी’का कारण इन्डोनेसियामा २७० को मृत्यु


इन्डोनेसियामा हालै सम्पन्न निर्वाचनका क्रममा ओभरटाइम ड्युटीमा खटिएका २७० जना निर्वाचन–कर्मचारीको मृत्यु भएको छ । मतपत्र गणनालगायत काममा खटिएका ती कर्मचारीको अत्यधिक थकान र अनिद्राका कारण उत्पन्न बिमारीबाट मृत्यु भएको हो ।

गत अप्रिल १७ का दिन इन्डोनेसियामा राष्ट्रपति छनोट तथा संसदीय निर्वाचन भएको थियो, जसको मतगणना मे २२ सम्म जारी रहनेछ । निर्वाचन कार्यमा खटिएका अस्थायी कर्मचारीहरू ओभरटाइम ड्युटीका कारण बिरामी पर्ने क्रम बढिरहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।

यतिबेला करिब दुई हजार कर्मचारी बिरामी अवस्थामा छन् । करिब २६ करोड जनसङ्ख्या रहेको इन्डोनेसियामा १९ करोभन्दा ज्यादा मतदाता छन्, जसमध्ये ८० प्रतिशतले मताधिकार प्रयोग गरेका थिए । चुनावी खर्च कम गर्न राष्ट्रपति छनोट तथा सांसद एवम् अन्य तहका प्रतिनिधि छनोटको निम्ति एकसाथ चुनाव गरिएको थियो । यसनिम्ति देशभरमा आठ लाख निर्वाचन केन्द्र बनाइएको थियो ।

चुनावी कार्यमा खटिँदा बिरामी परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले राहत रकम उपलब्ध गराउने घोषणा गरेको बीबीसीले जनाएको छ ।