‘साईंली’को साइतमा उषा भेटिएपछि…

‘साईंली’को साइतमा उषा भेटिएपछि…


  • राजन घिमिरे, अष्ट्रेलिया

बीचमा केही समय ग्याप देखिएता पनि नेपाली चलचित्र र म्यूजिक भिडियोको पर्दामा उषा रजकको उपस्थिति सधैं दमदार रह्यो । चाँडै चर्चामा आउने लोभमा उनले अर्थहीन काम गरिनन् । सस्तो र भद्दा भन्दा पनि वजनदार र अर्थपूर्ण भूमिकाको प्यासी उषाले अभिनय गरेको नरेन्द्र प्यासीको ‘तिमीले दिने माया अजम्बरी छ भने…’ र अनिल सिंहको ‘आइ लभ यू…’ बोलको गीतको भिडियोले उनलाई युवा पुस्तामाझ चर्चित बनाएको थियो । यो भन्दा पनि कुसुमे रूमाल–२, ईकु, वन डे र कथा नामक चलचित्रकी नायिका हुन् उनी ।

यो त उनको मनोरन्जन विधाको परिचय भयो । योभन्दा पनि पहिले त उनी नेपालको पहिलो मिस युनिभर्सिटी नेपाल–२००६ की विजेता हुन् । नेपालको प्रतिनिधित्व गर्दै उनी कोरिया पनि पुगिन् ।

विशेष गरेर पारिवारिक वा आफ्नै कारण पनि विदेश सयर गरिराख्छिन् उषा । उनी पाँच दिदी–बहिनीको कान्छी बहिनी हुन् । उनका चार दिदीहरू अमेरिका, क्यानडा, अबुदाबी र अष्ट्रेलियामा छन् । ‘यसकारण पनि पारिवारिक भेटघाटको बहानामा पनि विदेश जाने मौका आइरहन्छ’– सिड्नीमा भेटिएकी उषाले भनिन् ।

उनी गत हप्ता मात्र अष्ट्रेलियाको राजधानी क्यानभरामा रहेकी आफ्नी दिदीलाई भेट्न अष्ट्रेलिया आइपुगेकी थिइन् । सिड्नीमा रहेका चलचित्रकर्मी मनोज अधिकारीको निमन्त्रणामा चलचित्र साईंलीको प्रदर्शनमा उषा क्यानभराबाट सिड्नी आइपुगेकी थिइन् । ‘जहाँ पुगे पनि नेपाली चलचित्र र चलचित्रकर्मीहरूको माहोलबाट भाग्न सकिँदो रहेनछ । म क्यानभरामा थिए । मनोजजीले बोलाउनुभयो र आएँ’, उषाले प्रष्ट्याइन् ।

उषाले विदेश भ्रमण थालेको १३ वर्ष बितिसकेको छ । यसबीचमा उनलाई मनपरेको देश इन्डोनेशियाको बाली हो भने भाषाको कारणले गाह्रो भएको देश किर्जिस्थान रहेछ । ‘पारिवारिक कारण म किर्जिस्थानमा ७ बर्ष बसेँ । त्याहँ कलासम्बन्धी काम गर्न त्यति सकिएन । रुसी भाषा सिकेपछि धेरै सजिलो भयो । जर्नालिजममा स्नातक पनि यहीँ पूरा गरेँ र यो बसाईमा यूएन डिपीमा पनि काम गरेँ’ उषाले बेलिबिस्ताल नै लगाइन् ।

अध्ययन र पारिवारिक कारण कलाकारिताबाट केही समय ओझेल परेकी उषा अब जमेरै यो क्षेत्रमा लाग्ने तयारीमा जुटेकी छिन् । पछिल्लोपटक उनले अभिनय गरेको चलचित्र कठपुतली पनि दर्शकमाझ आउँदै छ । यो चलचित्रबाट पनि निकै उत्साहित छिन उनी, ‘जीवनमा कलाकारितालाई त कहाँ माया मार्न सकिँदो रहेछ र ? जसले चिनायो त्यो नै जीवन हो जस्तो लाग्छ । मेरो जीवन पनि कलाकारिता नै हो’, उषाले सुनाइन् ।