लोकसभाको निर्वाचनमा बलिउडका कलाकारको उत्साह

लोकसभाको निर्वाचनमा बलिउडका कलाकारको उत्साह


भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि बिदा दिइएको थियो । भारतमा यसपटक सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुने छ ।

चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले पनि जमेर मतदान गरेका छन् । यस्तै, भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीले मतदान केन्द्र पुगी मतदान गरेका समाचारलाई एजेन्सीहरुले महत्वका साथ सम्प्रेषण गरेका छन् ।

बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको थियो ।

यस्तै, चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिना कपूर, प्रियंका चोपडालगायत कैयौँ अभिनेत्रीहरुको रौनकयुक्त उपस्थिति मतदान केन्द्रमा रहेको थियो ।

भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।

एएफपीले जनाएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका थिए भने मतदानमा सहभागी उल्लेखित कलाकारहरुले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए ।

सोमबार विहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लाइन लम्बिएको थियो । खासगरी मतदान केन्द्रमा बलिउड कलकारहरुको बाक्लो उपस्थिति रहेको विषय विशेष चर्चामा रह्यो ।