श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध


गत साता श्रीलंकामा भएका शृखलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिनेखाले सबै प्रकारको कपडा लगाउन प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटेलमा भएका आतंककारी आक्रमणपछि दुई सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्काजस्ता पहिरनलाई सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलंका सरकारले आइतबार घोषणा गरेको छ ।

सोमबारदेखि लागू हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएको भए तापनि यस्तो प्रतिबन्ध मुस्लिम महिलाले प्रयोग गर्ने पहिरन बुर्कालक्षित रहेको छ । आइतबार गरिएको यस निर्णयअनुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन नपाउने भएको छ । यसअघि नै श्रीलंककाको संसदमा सुरक्षा कारण देखाइँदै बुर्कामा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्ने गरेको थियो ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताए । यस बुर्का प्रतिबन्धलाई पनि आकस्मिक उपायमध्येको एक भएको बताइएको छ । अनुहार छोप्ने यस पहिरको प्रतिबन्ध लगाउने सरकारको यो घोषणामा मुस्लिम महिलाले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन, तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ ।

श्रीलंकामा धेरै मुस्लिम महिलाले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्, तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको पाइन्छ । श्रीलंकामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको भएका तापनि गत अप्रिल २१ मा भएको भीषण आक्रमणपछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग बढेको थियो ।

इस्लामिक स्टेट्स आतंककारी समूहले जिम्मा लिएको यस भीषण आक्रमणहरूमा परी दुई सय ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयभन्दा बढी घाइते भएका छन् । यस आतंककारी आक्रमणमा परी करिब ४० विदेश नागरिकको पनि मृत्यु भएको छ । मारिएका ती विदेश नागरिकहरू भारत, डेनमार्क, चीन, टर्की, नेदरल्यान्ड र पोर्चुगलका रहेका थिए । इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटेलहरूमा बम विस्फोट गराइएको थियो ।