गहन विषय सरल प्रस्तुति : चलचित्र साइँली

गहन विषय सरल प्रस्तुति : चलचित्र साइँली


  • राजन घिमिरे, अष्ट्रेलिया

अहिले समय फेरिएको छ । मानिसहरूको सोच, चाहना, जीवनशैली अनि गन्तब्यमा परिवर्तन मात्र आएको नभई जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा महिला र पुरूष भनी छुट्याउने परिस्थितिको पनि अब लगभग अन्त्य भइसकेको छ । के महिला के पुरूष ? आत्मबोध गर्दा पारिवारिक जिम्मेवारी पुरूषसरह मात्र हैन कि उसको भन्दा बढी महिलाले पनि पहल गर्न सक्छन् भन्ने निचोड बोकेको कथा हो चलचित्र साइँलीको ।

अहिलेको समयमा साइँला मात्र होइन कि साइँलीहरू पनि परदेशिने क्रम बढेको छ । भविष्यको सुनौलो सपना बोकेर परदेशिएकी साइँली जब घर (स्वदेश) फर्कन्छे, त्यसबेला उसको सपना या भावनामाथि खेलबाड भएमा कस्तो परिवेशको सामना गर्नुपर्छ ? यी र यस्ता थुप्रै कारण राम्रोसँग केलाएका छन् चलचित्रमा निर्देशक रामबाबु गुरूङले ।

नेपालमा केही समयअघि मात्र यो सिनेमा रिलिज भएको थियो । नेपालमा मेकिङका हिसाबले तारिफ पाएको यो चलचित्र हिट गित ‘सुन साइँली साइँली…’ गीतलाई मूल आधार बनाएर निर्माण गरिएको हो । सिड्नीमा शनिनबार शो गरिएको यस चलचित्रले राम्रो प्रशंसा पायो । यसकारण पनि अन्य शो गर्न लागिएको जानकारी राजेश घिमिरेले दिए ।

पारिवारिक र सामाजिक परिवेशलाई निकै गहन र मर्मस्पर्षी तरिकाले उठाइएको र कलाकारहरूको सजिव अभिनय मन परेको बताए रोशन भट्टराईले । गहन विषय हुँदाहुँदै पनि चलचित्रले सहज किसिमले दर्शकमाझ राम्रो छाप छोडेको प्रतिक्रिया मनोज अधिकारीको थियो ।

गौरव पहारी, दयाहाङ राई र मेनुका प्रधानबीचको संवेदनशील सम्बन्धलाई निर्देशक गुरूङले निकै मार्मिक तरिकाले प्रष्टाएका छन् । पारिवारिक कारण परदेशिन बाध्य साइँलीहरूको मन त यो चलचित्रले छुन्छ नै, यो परिस्थितिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनेहरूको मन पनि कटक्क खान्छ । ‘आजको कथा र परिवेश बोकेको रहेछ, साँच्चै मन छोयो’, ओमकृष्ण श्रेष्ठले चलचित्र हेरेपछि यस्तो प्रतिक्रिया दिए ।

पारिवारिक इज्जत, मान–सम्मान जोगाउंन आफ्नो रहरलाग्दो परिवार छोडेर परदेशिन बाध्य साइँलीहरूको प्रतिनिधिमुलक कथा बोकेर यतिबेला सिड्नी आइपुगेको चलचित्र ‘साइँली’ एउटी नारीको त्याग, उत्साह र समर्पणको उदाहरण हो ।