कार्यक्रमहरूको कर्मकाण्ड

कार्यक्रमहरूको कर्मकाण्ड


■ स्वयम्भूनाथ कार्की

लामो समय कम्प्युटर प्रोग्रामरको रूपमा रहेँ । प्रोग्रामर एक यस्तो क्षेत्र हो जसमा हरदम त्यसबेला आफूले गर्न लागेको प्रोग्राम रचनाले नै मान्छेलाई एकोहोरो बनाइदिन्छ । सामान्यतया सामाजिक जीवनलाई समय निकल्न सकिन्न । अझ रचना चुनौतीपूर्ण छ भने कहिलेकाहीँ राति लघुशङ्काको निमित्त उठेको बेला पनि केही फुर्छ । अनि कम्प्युटर र कालो कफीले बाँकी रात खाइदिन सक्छ । कम्प्युटरमा लाग्नुभन्दा पहिले सामाजिक गतिविधिमा धेरै समय जान्थ्यो । पारम्पारिक खेती पेसा भएकोले पेसामा केही दिनको भीषण मिहिनेतपछि अर्को त्यस्तै मिहिनेत चाहिने बेलाको बीचमा सम्पूर्ण फुर्सद हुन्थ्यो । तर, कम्प्पुटर पेसामा मानसिक एकोहोरोपनले दिने थकाइ मेट्न जबर्जस्ती लिएको फुर्सद तनाव कम गर्ने मनोरञ्जनमा खर्च हुन्थ्यो ।

यो कम्प्युटरमा लागेको करिब तीन दशकको समयमा न वरपर हेर्ने मौका भयो न पुराना सामाजिक क्षेत्रका सङ्गत भएकासँग सम्पर्क । फलतः जब अहिले म पेसाको थकाइले करिबकरिब निवृत्तजस्तै भएको छु ती सम्बन्धहरू मैले फेरि स्थापना गर्न चासो लिन थालेको छु । त्यसैकारणले म कुनै पनि कार्यक्रमको निम्तालाई आदर गर्छु । सबै क्षेत्रका स्थापित व्यक्तित्वहरूसँग घनिष्टता बढाउने मेरो प्रयत्नले मलाई कविता कोर्ने पनि बनाइदिएको छ । सामाजिक चिन्तन, राष्ट्रिय चिन्तन र त्यसमा एक एकाइको नाताले आफ्नो भागमा परेको काम पनि गर्न खोज्ने बनाइदिएको छ । आफैँले आफूलाई योगदान दिएको भन्नलाई म प्रधानमन्त्री होइन । तर, मेरो प्रयत्नले मलाई आत्मसन्तोष दिएको भने छ ।

यसैले विभिन्न कार्यक्रममा आएका र लाज नमानी भन्ने हो भने केही मागेका निम्ताहरूमा संलग्न हुनु पनि सामाजिक दायित्व हो भन्ने लागेको छ । तर, कार्यक्रमहरू भने पट्यारलाग्दा लाग्न थालेका छन । जे–जस्तो भए पनि लगातार उपस्थिति परिचय नवीकरणका निमित्त आवश्यक रहेछन् भन्ने बोध मेरो तीन दशकको एकोहोरो पेसाभक्तिमा गुमाएका सम्बन्धले देखाएका छन् । त्यसैले पट्यारलाग्दा कार्यक्रमहरू नै भए पनि रोचक नै कार्यक्रम भए पनि भरसक दिएको समयमै पुग्ने मेरो प्रयत्न रहन्छ जो अहिलेसम्म ९५ प्रतिशत पूरा भएको छ । तर, समयमा पुगेकोमा आफू बुद्धू भएको महसुस भने तीनचौथाइ कार्यक्रमहरूमा भएको छ । केही त यस्ता कार्यक्रम पनि छन् जहाँ म पुग्दा आयोजक नै आई नपुगेको अवस्था पनि छ । तैपनि दिएको समयबाट अढाइ घन्टाभन्दा ज्यादा पर्खने सौभाग्य भने पाएको छैन ।

जब प्रमुख अतिथिको लामो प्रतीक्षापछि कार्यक्रम शुरु हुन्छ अनि शुरु हुन्छ उद्घोषकको चाहना । कार्यक्रमको अध्यक्षता गरिदिन हुन म आदरणीय, प्रातः पुजनीय आदि कमसेकम दश विशेषणले युक्त श्री फलानालाई अध्यक्षताको आसन ग्रहण गर्न बोलाउन चाहन्छु । म फलानाफलाना विशेषणयुक्त फलानालाई मञ्चमा आसन ग्रहणको निमित्त बोलाउन चाहन्छु । यो लामो चाहनापछि भनिन्छ आसनग्रहणको कार्यक्रम निरन्तर रहनेछ, अब मूल कार्यक्रमतर्फ आउन चाहन्छु । स्वागत भाषणको निमित्त फलाना वा फलानीलाई अनुरोध गर्न चाहन्छु । यो अवस्थासम्म आइपुग्दा कम से कम चौथाइ घन्टा समाप्त भइसकेको हुन्छ ।

अब हरेकको मन्तव्यमा सम्बोधनको लामो प्रक्रिया शुरु हुन्छ, एक–एक व्यक्ति तोकेर त्यसको विशेषतासहित सम्बोधन गर्दा नै दुई–तीन मिनेट सकिन्छ । अनि बल्ल वक्तालाई ज्ञान आउँछ यसरी उपस्थित सबैलाई सम्बोधन गर्न सकिन्न अनि भन्छन् तथा उपस्थित सबै दाजुभाइ, दिदीबहिनी । त्यसपछि कमसेकम चौथाइ घन्टा भाषण गरिसकेपछि भन्छन्– ‘मेरो छोटो वक्तव्य यहीँ समाप्त गर्छु ।’ उनले माइक छोडेपछि पालो आउँछ फेरि उद्घोषकको मिनेटभर त्यो चौथाइ घन्टामा वक्ताले बोलेको कुराको सारांश मानौँ त्यहाँ स्रोताहरू आफूले केही बुझ्दैनन् ।

अनि केही अपवाद छोडेर एक अशोभनीय कुरा आउँछ, उद्घोषक भन्न बाध्य हुन्छ– हाम्रा प्रमुख अतिथिको कार्यव्यस्तता र अर्को महत्वपूर्ण स्थानमा जानुपर्ने भएकाले उहाँलाई मन्तव्य राख्न बोलाउन चाहन्छु । व्यस्त प्रमुख अतिथिले सबैभन्दा लामो सम्बोधन गर्ने वक्ताभन्दा अलि धेरै समय सम्बोधन गर्छन् । अनि व्याख्यान शुरु हुन्छ आफूलाई आयोजक र आयोजक संस्थासँग आत्मीयता छ भन्ने साबित गर्ने प्रमाण । प्रमुख अतिथि राजनीतिक क्षेत्रका भए त झन् के चाहियो कि सन्दर्भ पारेर कि सीधै आफ्नो पार्टीको बखान र विरोधी पार्टीको निन्दा पुराण । यदि न दिएको समयमा आउन सक्ने न पूरा कार्यक्रममा समय दिन सक्नेले किन प्रमुख आतिथ्य स्वीकार गर्छन्, यो शोधको विषय हुन सक्छ । यसरी बल्लबल्ल समाप्त भएको कार्यक्रम औपचारिकता र प्रतीक्षाबाहेक कार्यक्रम सम्बन्धित र काम लाग्ने कुरा भने कठिनतापूर्वक आधा घन्टाको हुन्छ । त्यसपछि अर्को आधा घन्टा सबैभन्दा रसिलो कार्यक्रम चियाखाजाको । यो नै हो मैले भोगेको कार्यक्रमको कर्मकाण्ड, तपाईंको योभन्दा अलग छ कि ?