भारतीय प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आमनिर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् । मोदीले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आमनिर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरू रहेका छन् । ती दलहरूले संयुक्त रूपमा मनोनयन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री मोदीले सो मनोनयन दर्ता गर्नेबेलामा ती २८ वटै गठबन्धन राजनीतिक दलका नेताहरू पनि सहभागी भएका थिए । भारती जनता पार्टीको नेतृत्वमा उक्त नेसनल डेमोक्रेटिक अलाइन्स (एनडीए) गठन भएको हो । उनको मनोनयनका समयमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय जनता पार्टीका अरू केन्द्रीय नेताहरू, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूको सहभागिता रहेको बनारसबाट प्राप्त समाचारमा जनाइएको छ ।

मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो । उनी गएको निर्वाचन सन् २०१४ मा पनि बनारस र गुजरातबाट निर्वाचन लडेकोमा दुवै निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो । त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन् । त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रूपमा लिने गरिन्छ ।

भारतमा यहाँको संसदको तल्लो सदन लोकसभाका ५४३ स्थानका लागि मतदान जारी छ । अब आगामी चरणको निर्वाचनपछि मे २३ मा परिणाम घोषणा हुने कार्यक्रम रहेको भारती निर्वाचन आयोगले जनाएको छ ।