चीन जाँदै गर्दा पुटिनले भेटे उत्तर कोरियाली नेता किमलाई

चीन जाँदै गर्दा पुटिनले भेटे उत्तर कोरियाली नेता किमलाई


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको योनहापले जनाएको छ । रुसी राष्ट्रपति पुटिनको निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा सवार भई रुसको भ्लादिभोस्तक पुगेका थिए ।

भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेशभुषासहित स्वागत गर्दा किम प्रशन्न बनेका समाचार सार्वजनिक भएका थिए ।

दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भइरहेको र भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको समाचारमा जनाइएको छ ।

रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ पुग्दैछन् । यसैक्रममा दुबै नेताबीच भ्लादिभोस्तकमा भेटघाट भएको र कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–उत्तर कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा भेटवार्ता केन्द्रित हुने रुसी अधिकारीहरुले जनाएका छन् ।

तथापि, दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नहुने र कुनै नयाँ सम्झौतामा हस्ताक्षर पनि नहुने क्रेमलिनले स्पष्ट पारिसकेको छ ।

रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनावका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताएका छन् । किमलाई स्वागत गर्दै उनले भने, ‘तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।’

उत्तर कोरियाली नेता किमले भ्रमणका बारेमा प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताएका छन् । यतिबेला विश्वकै ध्यान कोरियाली प्रायःद्वीपमा केन्द्रित भएको उनको धारणा थियो ।