के अष्ट्रेलियामा नेपाली सिनेमाको बजार धराशायी हुँदै छ ?

के अष्ट्रेलियामा नेपाली सिनेमाको बजार धराशायी हुँदै छ ?


  • राजन घिमिरे, अष्ट्रेलिया

तीन साताअघि अष्ट्रेलियामा नेपाली सिनेमाको बजार भाउ र आर्थिक कारोबारलाई लिएर एक प्रकारको तरङ्ग नै पैदा भयो । नेपाली चलचित्र ‘जात्रै जात्रा’ अष्ट्रेलियाको निम्ति मात्र ३२ लाखमा बिक्यो । अर्को चलचित्र ‘दाल भात तरकारी’लाई अष्ट्रेलियामा चलाउन ४५ लाख दिइयो ।

यो समाचारले अष्ट्रेलियामा नेपाली सिनेमाको बजार र भाउ उँचो रहेको स्पष्ट गऱ्यो । हुन पनि हो, योभन्दा पहिला २ रूपैयाँ, कबड्डी कबड्डी, छक्का पन्जा–२, शत्रु गते, प्रसाद र बुलबुल नामका सिनेमाले यहाँ प्राप्त गरेको साख र गरेको ब्यापार ‘वाह्…!’ गर्नलायकको थियो । अष्ट्रेलियावासी नेपालीमाझ यो छर्लङ्गै छ । हिट फिल्महरू तीनदेखि बाइस ‘शो’सम्म चलेर अष्ट्रेलियामा नेपाली सिनेमाले राम्रै क्रेज पैदा गरेका हुन् ।

यति फराकिलो, विस्तारित र फलदायी बनेको नेपाली सिनेमाको बजारमा यो साता भने नेपालबाट सिनेमा ल्याएर देखाउने आयोजकहरूले केही झन्झट ब्यहोर्नुपर्ने भएको छ । विदेशी चलचित्र प्रदर्शनको अष्ट्रेलियन निती–नियमका कारण कानुनी झन्झट पैदा हुने सम्भावना बढेको हो ।

अष्ट्रेलियन चलचित्र सेन्सर बोर्डले अब अष्ट्रेलियाको एक राज्यमा ४ शो भन्दा बढी शो चलचित्र चलाउनु परेमा अष्ट्रेलियामा पनि सेन्सर गर्नुपर्ने र सेन्सरबापत सरकारलाई २ लाख नेपाली रूपैयाँ तिर्नुपर्ने नियम बनाएको छ । तर, चारभन्दा कम ‘शो’ हुने चलचित्रले भने यो निती अपनाउनु पर्ने छैन ।

पछिल्लो नियमअनुसार अष्ट्रेलियामा चारभन्दा बढी ‘शो’ हुने चलचित्रले २० दिनअगाडि नै सेन्सर गरिसक्नुपर्ने छ । नेपालमा ढिला सेन्सर गर्ने तर नेपाल र अष्ट्रेलियामा एकसाथ चलचित्र रिलिज गर्न चाहने निर्माताले सेन्सरको लागि एक महिनाअगाडि नै आफ्नो चलचित्र सेन्सर गर्नुपर्नेतर्फ चनाखो हुनुपर्ने भएको छ । यो नियम पहिलादेखि नै थियो ।

अरू देशका सिनेमाहरू रेगुलर शो हुँदा सबैको नजर पर्दथ्यो र नियममा आउँथे तर नेपाली सिनेमा चलाउनेहरूले यो नियम उल्लंघन गर्दै आएका थिए । शुरूमा अन्धाधुन्ध रूपमा नेपाली सिनेमा आए अनि चलाइए पनि, अब भने पहिला जस्तो गर्न सकिँदैन । यस प्रावधानले अष्ट्रेलियामा नेपाली सिनेमालाई ब्यवस्थित गर्न मद्दत गर्ने कानुनविज्ञ खिलेन्द्रराज तिमल्सिनाको भनाई छ ।

चलचित्र ‘जात्रै जात्रा’को अष्ट्रेलिया अधिकार किनेका रोशन भट्टराई यसलाई सकारात्मक रूपमा पनि लिन सकिने बताउँछन् ।

‘यहाँको सेन्सर दस्तुर तिरेमा जति शो पनि देखाउन सकिन्छ । अब पहिलेजस्तो नेपाल र अष्ट्रेलियामा एकसाथ रिलिज भन्ने तर फिल्मको फाइल ढिला पठाउने हेलचेक्र्याईं चाहिँ गर्न नपाइने भइयो । अष्ट्रेलिया र नेपालमा एकसाथ रिलिज गर्ने र अष्ट्रेलियाको एक राज्यमा चारभन्दा बढी शो गर्ने हो भने २० दिनअगाडि अष्ट्रेलियामा पनि सिनेमा सेन्सर गर्नुपर्छ,’ भट्टराईले स्पष्ट पारे ।

अष्ट्रेलियामा अहिलेसम्म चार शो को सुविधामा टेकेर ‘शो’ थप्दै नेपाली सिनेमा देखाईंदै आइएको थियो । यसप्रति कसैले खासै चासो नदिएकोले पनि इभेन्ट सिनेमाले चारभन्दा बढी ‘शो’ दिँदै आएको बताइएको छ भने अब हुन लागेको कडाईले ९५ प्रतिशत नेपाली सिनेमालाई असर नगर्ने कुरा सिड्नी निवासी चलचित्र निर्देशक मनोज अधिकारी बताउँछन् ।

‘जुन सिनेमा नेपालबाट महँगो रकममा किनिन्छ, ती सिनेमाहरूको लागि २ लाख नेपाली तिरेर अष्ट्रेलियामा सेन्सर पास गर्नु उचित हो, ४५ लाखमा सिनेमा किन्दा २ लाख तिर्नु ठूलो कुरा होइन, अष्ट्रेलियाको कानुनअनुसार अगाडी बढ्नु नेपाली फिल्म उद्योगको लागि पनि पछि गएर लाभप्रद नै हुनेछ । यसले मल्टीफ्लेक्समा ‘रेगुरल शो’को चाँजोपाँजो मिलाउन पनि मद्दत गर्छ,’ अधिकारीले भने ।

बजारमा हल्ला चलेजस्तो अब अष्ट्रेलियामा नेपाली सिनेमा नै नचल्ने, चल्न गाह्रो हुने, ठप्प हुने जस्ता अफवाह र हाउगुजीको पछाडि नलाग्न चलचित्र जात्रै जात्राका प्रदर्शक रोशन भट्टराईले आग्रह गरेका छन् ।

‘बलिउड र हलिउडका चलचित्रले अष्ट्रेलियामा जून नियममा सिनेमा चलाउँछन्, अब हामी पनि त्यही स्तरमा पुगेका छौँ । अष्ट्रेलियाको सेन्सर बोर्डमा नेपाली सिनेमाले आफ्नो उपस्थिति जनाउने छ । अष्ट्रेलियामा नेपाली सिनेमाको बजार र साखको बारेमा पनि अष्ट्रेलियाको सरकारले जानकारी पाउने छ । ओत लाग्दा सानो होइन ठुलै रूखमुनि लाग्नु राम्रो होइन र ?’ भट्टराईको निचोड छ ।