भूल हो उत्तर कोरियाको ‘पश्चात्तापदायी अडान’

भूल हो उत्तर कोरियाको ‘पश्चात्तापदायी अडान’


  • दी भरतबहादुर बिसुराल (हिमालयन टाइगर)

हालै मात्र बिनानिष्कर्ष टुङ्गिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन को शिखरवार्ताप्रति ट्रम्पविरोधी सञ्चारमाध्यम वा एजेन्सीहरू र विपक्षी दल डेमोक्र्याट पार्टीले डोनाल्ड ट्रम्पले उत्तर कोेरियाका नेतासँग निजी सम्बन्ध विस्तार गरेको, शान्ति नोबेल पुरस्कार हात लगाउन कोसिस गरेकोजस्ता आरोप मात्र लगाएनन् । झुटो बयान दिएर अमेरिकी कङ्ग्रेसलाई ढाँटेका न्युयोर्कको अदालतमा पनि झुटो बोलेकोले जेल सजाय भोगिरहेका राष्ट्रपति ट्रम्पका पूर्ववकिल माइकललाई जेलघरबाट पुनः अमेरिकी कङ्ग्रेसको सुनुवाइ समितिमा ल्याई राष्ट्रपति ट्रम्पविरुद्ध अनर्गल रूपमा बयान लिएर राष्ट्रपति ट्रम्पको आत्मबल गिराउने प्रयास र विश्व जगत्लाई हसाउने वातावरण सिर्जना गरे ।

माइकलका वकिल लानी डेभिस उच्च तहका डेमोक्र्याट भएकाले सुनुवाइ समितिका अध्यक्षलगायत उच्च तहका डेमोक्र्याटका काङ्ग्रेस सदस्यहरूसँग माइकलको भेटघाट गराई बयानमा बोल्ने लिखित मन्तव्यसमेत तयार पारेका थिए भनी काङ्ग्रेसकै रिपब्लिकन कङ्ग्रेस सदस्यहरूको विरोध आएको थियो । एकपटक अमेरिकी कङ्ग्रेस र अदालतसमेतलाई झुट बोलेर अपराध स्वीकार गरिसकेको व्यक्तिबाट के सत्यता खुल्छ र ? यो त संविधान र नियम–कानुनअनुसार त्यस्ता व्यक्तिको टेस्टिमोनी लिन मिल्दैन भनी रिपब्लिकनका कङ्ग्रेस सदस्यहरूको विमति र अवरोध हुँदाहुँदै पनि बहुमत प्राप्त डेमोक्र्याट कङ्ग्रेसका सदस्यहरू र समिति अध्यक्षबाट बलजफ्ती बयान लिने काम भएको छ ।

यो विश्वका मुलुकहरूको शान्तिका लागि विगतमा पनि डेमोक्र्याट होस् या रिपब्लिकन दुवै नेतृत्वले उत्तर कोरियासँग वार्ता गर्दै आएका थिए र आज ट्रम्प प्रशासनले उक्त वार्ता टुङ्गोमा पुऱ्याउन कोसिस गर्दा राष्ट्रपति ट्रम्पको महान् भूमिका देखिएला र व्यक्तिगत फाइदा पुग्ला भनी सोच्नु उच्च विचार हुँदै होइन । उत्तर कोरियाले सन् १९६२–६३ देखि सोभियत युनियनसँग आणविक हातहतियार विकासका लागि भनेर प्रस्ताव राखेको र शुरुमा अस्वीकार गरे पनि पुनः शान्तिपूर्ण रूपले आणविक ऊर्जा उत्पादन गर्ने भनी सोभियत सङ्घले आणविक कारखाना अणु बम र हातहतियारहरू मात्र विकास नभएर उत्तर कोरियन केमिष्टविज्ञ, प्राविधिक, डाक्टर आदिको तालिम प्रशिक्षणदेखि संरक्षण र परीक्षणसम्म गर्न सक्ने दक्ष जनशक्ति तयार पारिदिएको थियो । ९० को दशकमा एकजना पाकिस्तानी केमिष्ट वैज्ञानिकले उत्तर कोरियासँग प्रशस्त आणविक ऊर्जा र हातहतियार रहेको पुष्टि गरिदिएका थिए ।

उत्तरकोरियाले लिबिया र पाकिस्तानलाई आणविक भट्टी र बमहरू उत्पादन, विकास र प्रयोजनका लागि दक्ष बनाइदिएको पनि पुष्टि हुन्छ । उत्तर कोरियाले सन् १९८५ मा औपचारिक रूपमा नन प्रोलिफिरेसन ट्रिटी (एनपीटी) मा सहमति भए पनि आईएईएका नियमहरू पालना गर्न सकेन । सन् १९९३ मा आफ्ना आणविक कारखाना र भण्डार निरीक्षण गर्न नदिएपछि आईएईएको रिपोर्टअनुसार संयुक्त राष्ट्र सङ्घको सेक्युरिटी काउन्सिलको समेत नियम उल्लङ्घन गरेको ठहर गरियो र उत्तर कोरियासँग प्रसस्त आणविक हातहतियार रहेको भनिरहँदा उत्तर कोरियाले नन प्रोलिफिरेसन ट्रिटीबाट अलग रहेको घोषणा गऱ्यो । पुनः अमेरिकाले डिस आर्मिङ प्रोसेसका लागि आफ्नो प्रस्तावअनुसार सँगै फ्रेमवर्क गर्न अनुरोध गर्दै केही सहयोग गर्न चाह्यो, तर सन् २००२ मा आएर दुवै पक्षको भनाभनसम्म भयो ।

अमेरिकाले उत्तरकोरियालाई बहुआपराधिक गतिविधिमा लागेको भनी तेल ओसारपसार गर्ने पानीजहाजहरू उत्तर कोरिया जान रोक लगायो । २००३ मा उत्तर कोरियाले पनि पुनः पूर्ण रूपले नन प्रोलिफिरेसन ट्रिटी (एनपीटी) को मेम्बरसिप नै खारेज गरेको घोषणा गऱ्यो । र, सन् २००६ अक्टुबर ९ मा पहिलोपल्ट भूमिगत अणुबम परीक्षण गऱ्यो । जुन ६, २००७ मा आफूसँग अणु बम भएको घोषणा नै गऱ्यो । १७ मार्च २००७ मा ६ पार्टी वार्तामा संलग्न भए । वार्तामा अमेरिका, रुस, चीन, जापान, दक्षिण कोरिया र उत्तर कोरिया थिए । वार्तामा बसेबापत तेलमा लागेको नाकाबन्दी फुकाउन अमेरिका र जापानसँग अनुरोध गऱ्यो ।

आईएईएले योङविओन आणविक कारखाना र भण्डारण गरेका ठाउँहरू निरीक्षण गरी नष्ट गरेपछि सहयोग सुचारु राख्ने कुरा चल्दै थियो । तर, २००९ मा त्यो कार्य पनि असफल भयो । २००९ अप्रिलको रिपोर्टअनुसार आईएईएका प्रमुख महम्मद अलवरादायीले उत्तर कोरिया पूर्ण रूपले केमिकल बायोलजिकल हातहतियार खरखाजना भएका भण्डारहरूले सम्पन्न भएको पुष्टि गरिदिएका थिए । २५ मे २००९ आफैँ आफूसँग अणुबम परीक्षण गऱ्यो । २०१२ मा युरेनियम इनरिचमेन्ट अवरोधपछि उत्तर कोरियाले योङविओन आणविक कारखाना र भण्डार निष्क्रिय पार्ने घोषणा गरी फेरि आफ्नो लाभदायक वार्तामा अमेरिकासँग बस्ने निर्णय गऱ्यो जसअनुसार लामा दूरीका र आणविक बमहरू केमिकल बायोलजिकल हतियारहरू नष्ट गर्न आईएईएलाई निरीक्षण गर्न दिने र दुईपक्षीय सम्बन्ध सुधार्न वार्ता सफल पार्ने कारणमा मानवीय सहायताका लागि उत्तर कोरियामा खाद्यान्न पठाउने निर्णय पनि भयो । त्यो वार्ता उत्तर कोरियासँग मात्र भएको थियो । तर, ११ फेब्रुअरी २०१३ मा अमेरिकन भूउपग्रहले उत्तर कोरियाद्वारा ५.१ म्याग्निच्युड कम्पनको भूमिगत अणुबम परीक्षण गरेको पत्ता लाग्यो । उत्तर कोरिया आफैँले पनि पहिलाभन्दा सफल परीक्षण भएको घोषणा गऱ्यो ।

६ जनवरी २०१६ मा दक्षिण कोरिया र अमेरिकी भूउपग्रह सर्वेक्षणद्वारा ५.१ म्याग्निच्युड कम्पनको अर्को अणुबम परीक्षण गरेको अनुसन्धान गरिरहेकै अवस्थामा उत्तर कोरिया आफैँले हाइड्रोजन मिसाबाट समेत भएको अणुबमको मिसाइल परीक्षण गरिएको बतायो । तर, पुष्टि हुन सकिरहेको थिएन । तैपनि हाइड्रोजन बम भनेपछि १ घन्टाभित्र अमेरिका, जापानलगायत धेरैले निन्दा, भत्र्सना र खेद प्रकट गरेका वक्तव्यहरू आए । हाइड्रोजनको दूरी तेज र असर खतरनाक हुन्छ । तर, अमेरिकालाई हाइड्रोजन बमलाई फ्युजन गर्ने डेटोनेटर प्रविधिमा उत्तर कोरिया दक्ष भइसकेको छैन भन्ने भ्रम थियो । ७ फेब्रुअरी २०१६ मा उत्तर कोरियाले भूउपग्रहदेखि ग्रहहरूसँग (स्पाटेलाइटदेखि अर्बिटसम्म) पृथ्वीको जताततै महादेशदेखि महादेशसम्म मार गर्ने हाइड्रोजन बम परीक्षण गरेपछि अमेरिका, जापानदेखि विश्व नै त्रसित भयो । अमेरिकन महादेश पनि मार गर्ने भएपछि बाँकी अरू को रहने ?

तर, उत्तर कोरियाले शान्तिपूर्ण रकेट परीक्षण भन्यो । त्यसै गरी ९ सेप्टेम्बर २०१६ मा गरिएको आईसीबीएम हाइड्रोजन बम झन् धमाकादार भएको पाइयो । त्यसपछि अमेरिका, जापान र चीनसमेतको समर्थनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कडाभन्दा कडा धेरै प्रकारका नाकाबन्दी लगायो । उत्तर कोरियासँग अधिकतम मार गर्ने मिसाइलको दूरी १३००० किलोमिटर (८१०० माइल) भएकोमा अब सर्वत्र मार गर्ने केमिकल बायोलोजिकल, हाइड्रोजन बम (आईसीबीएम) प्रविधिसमेतका विनाशकारी हातहतियार रहेको सर्वविदितै छ ।

यस्ता विनाशकारी हातहतियारहरू नष्ट गरी विश्वशान्तिका लागि काम गर्नुपर्ने अवस्थामा अमेरिकी राष्ट्रपति डोेनाल्ड ट्रम्पको खुट्टा तान्ने र सफल हुन नदिने घेराबन्दी गर्ने कार्य ठीक वा बेठीक विश्वले देखिरहेको छ । शान्ति स्थापना कार्य विरोधका लागि विरोध गर्ने राजनीति एजेण्डमा राख्नु सकारात्मक पक्ष हुँदै होइन । नियतकै कारण सद्दाम हुसेनकोे अन्त्य भयो किनकि उनले इरान–इराक युद्ध १९७९ मा र सन् १९९५ मा उत्तरी इराक कुर्दिस्थानमा रासायनिक हतियार प्रयोग गरे । हजारौँलाई मारेको पुष्टि भएको थियो । रासायनिक हतियार त भारत, पाकिस्तान, चीन, रुस, इरान, अमेरिकासँग पनि छन् तथापि ननप्रोलिफोरेसन ट्रिटीसँग आबद्ध र आईएईएका नियमहरू पालना गरी सुरक्षित भण्डारण र संमक्षण गरी राखिएको र घटाउँदै नष्ट गर्दै लैजाने सम्झौता गरिएका छन् ।

विगतमा उत्तर कोेरियाले देखाएको आचरण र नियति हेर्दा कमजोर प्रतिबद्धताका कारण उत्तर कोरियालाई फकाइफुल्याई उद्देश्य पूरा गर्नुपर्ने देखिन्छ । यसअघि उनका पिताले पूर्वअमेरिकी राष्ट्रपति बुससँग हात मिलाउन चाहेकोे खबर लिएर तत्कालीन जापानिज प्रधानमन्त्री अमेरिका पुगेर सुनाउँदा हाँसोमा उडाइयो । यसपटक राष्ट्रपति ट्रम्पले अफगानिस्तानका तालिवानसँगको शान्तिवार्ता र उत्तर कोरियाका नेता किम जोङ उनसँगको प्रत्यक्ष शिखरवार्ता उनीहरूका लागि सुरक्षित अवतरण गर्ने सुनौलोे अवसर छँदै थियो । तथापि विषादी थुप्रोे अगाडि देखाएर आफैँमा पश्चात्ताप भोग्नुपर्ने अडान लिनु उत्तर कोरियन नेता किम जोङ उनको भूल थियो ।