लापर्वाही गर्ने सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन आदेश

लापर्वाही गर्ने सेना र प्रहरी नेतृत्वलाई राजीनामा दिन आदेश


श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका छन् । देशका विभिन्न ठाँउमा गत आइतबार भएको विस्फोटनमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् ।

राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनले गत मङ्गलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने सङ्केत गरेका थिए ।

विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरुको लापर्वाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्काको राजधानी कोलम्बोका तीनवटा पाँचतारे होटल र दुईवटा गिर्जाघर (चर्च)मा भएका शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या हिजो बुधबारसम्ममा ३५९ जना पुगेको बताइएको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।