‘आतङ्ककारी समुह’ हिजबुल्लाहविरुद्ध अमेरिकी सरकारको अहम् घोषणा

‘आतङ्ककारी समुह’ हिजबुल्लाहविरुद्ध अमेरिकी सरकारको अहम् घोषणा


  • मनोज रिजाल, न्युयोर्क

अमेरिकी सरकारले लेबनिज आतङ्ककारी समुह हिजबुल्लाहको वित्तीय संजाललाई ध्वस्त गर्न सहयोग पुग्ने कुनै पनि सुचना वा जानकारी दिने व्यक्तिलाई १० मिलियन डलर (करिव १ अर्ब १२ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कारको घोषणा गरेको छ ।

उक्त पुरस्कार हिजबुल्लाहको आयस्रोत र वित्तीय सहजीकरणका संयन्त्रहरूको पहिचान र छिन्नभिन्न पार्न सहयोग हुने सुचना वा जानकारी, हिजबुल्लाहका मुख्य दाता, सहजकर्ता अथवा हिजबुल्लाहको आर्थिक लेनदेन हुने ठाउँहरूको जानकारी वा पहिचान, आदिका लागि दिइने छ ।

यसैगरी, हिजबुल्लाह वा यसका दाताहरूको व्यवसाय वा लगानी, हिजबुल्लाहको तर्फबाट प्रविधिहरूको अन्तर्राष्ट्रिय खरिद बिक्री गर्ने कम्पनीहरू एवम् हिजबुल्लाह र यसका सदस्यहरूलाई आर्थिक रुपमा सहयोग पुग्ने आपराधिक योजनाहरूको जानकारी समेतको लागि उक्त पुरस्कार रकम प्रदान गरिनेछ ।

हिजबुल्लाहले हतियार, तालिम र रकम इरानबाट प्राप्त गर्छ, जुन देशलाई अमेरिकी सरकारले सन् १९८४ मै आतंकबाद निर्यात गर्ने राष्ट्र (स्टेट स्पन्सर अफ टेररिज्म) घोषणा गरिसकेको छ । अमेरिकी सरकारको वैदेशिक विभागले हिजबुल्लाहलाई आप्रवासन र राष्ट्रियता संबन्धी कानुन अन्तर्गत सन् १९९७ को अक्टुबरमै विदेशी आतंककारी संगठन (फरेन टेरोरिस्ट अर्गनाइजेसन (एफ.टि.ओ.) र एक कार्यकारी आदेश अन्तर्गत सन् २००१ को अक्टुबरमा विशेष रुपमा पहिचान गरिएको विश्वव्यापी आतंककारी (स्पेशली डेजिग्नेटेड ग्लोबल टेररिस्ट (एस.डि.जि.टि.) घोषणा गरेको थियो ।

मुख्य रुपमा, अमेरिकी सरकारले हिजबुल्लाहका तीन जना सदस्यहरू, जसले हिजबुल्लाहलाई रकम दिइरहेका छन् अथवा आर्थिक सहजीकरण गरिरहेका छन, तिनीहरूको पहिचान गरेको छ र उनीहरूको बारेमा थप जानकारी खोजीरहेको छ । यी तिनै जनालाई एस.डि.जि.टि. घोषणा गरिएको छ । यी तीन जना आतंककारीहरू हुन्– आधम तबाजा, महमद इब्राहिम बज्जी र अली युसेफ चरारा । यी मध्ये आधम तबाजाले आफुलाई घरजग्गा व्यवसायीको मुखौटोमा छुपाएका छन् भने महमद इब्राहिम बज्जीले आफुलाई कैयौँ अन्तर्राष्ट्रिय व्यापारिक समुहहरूको मालिकको छद्म भेषमा लुकाएका छन् । त्यसैगरी, अली युसेफ चराराले आफुलाई एक लेवनिज दुरसंचार (टेलिकम) कम्पनीको मालिकको छद्म रुपमा आफुलाई देखाएका छन्् ।

यसैबीचमा, वाशिङ्टन डिसी र न्युयोर्कमा संयुक्त रुपमा आयोजना गरिएको एक पत्रकार सम्मेलनलाई संवोधन गर्दै अमेरिकी विदेश विभागका उच्च अधिकारीहरूले हिजबुल्लाहको सबै आयस्रोत र आर्थिक सहयोगहरू निमिट्यान्न पार्न कुनै कसर बाँकी नराखिने र त्यसको लागि उपलब्ध सबै माध्यम र स्रोत–साधनहरूको प्रयोग गरिने तथ्य बताएका छन् ।

‘यसमा अलिकति पनि भुल नगरौँ, संयुक्त राज्य अमेरिका सरकारले भएका सबै माध्यम र स्रोत–साधनहरूको प्रयोग गरेर भए पनि हिजबुल्लाहको आर्थिक आयका सबै स्रोतहरूलाई पुर्ण रुपमा निर्मुल पारिदिनेछ । हिजबुल्लाहका नाइकेहरू जो इरानमा बस्छन् र जहाँबाट हिजबुल्लाहलाई वित्तीय सहयोग प्राप्त भइरहेको छ, एवम् तिनीहरूले मध्य पुर्व र विश्वभरि नै आतंककारी गतिविधिहरू फैलाउन जुन संयन्त्रहरूको प्रयोग गरिरहेका छन्, तिनीहरू सबैलाई हामी लक्षित गर्नेछौं,’ अमेरिकी वित्तीय सहायक मन्त्री मार्सल बिलिङ्स्लीले उक्त पत्रकार सम्मेलनमा भने ।

दक्षिण अमेरिकाबाट अवैधानिक लागु पदार्थको तस्करी मार्फत हिजबुल्लाहको आतंककारी गतिविधिको लागि समेत पैसा प्राप्त भइरहेको भन्ने प्रश्नको जवाफ दिंदै बिलिङ्स्लीले हिजबुल्लाहका दाताहरू तेल र पेट्रोलियम पदार्थ लगायत अन्य विभिन्न आयात–निर्यात कार्यमा संलग्न हुनुका साथ गैरकानुनी लागु पदार्थ ओसारपसारको धन्धामा समेत लागेको तथ्य बताए ।

‘एक उत्कृष्ट उदाहरणका लागि, महमद इब्राहिम बज्जी आफ्ना अन्य करतुत र हरकतका साथै लागु पदार्थको तस्करीमा समेत संलग्न छन् । गत हप्ता मात्रै हामीले लेबनानमा अवस्थित एक पैसा साट्ने ठाउँ (मनि एक्सचेन्ज) ‘चाम्स् एक्सचेन्ज’लाई आतंककारी गतिविधिमा संलग्न घोषणा गर्यौं । यसका मालिकले अत्यन्त ठुल्ठुला रकमहरू कोलम्बिया लगायत अन्य दक्षिण अमेरिकी देशहरूमा लागु पदार्थ तस्करी प्रयोजनको निम्ति पठाउँछन्, जुन एक अवैधानिक मुद्रा सुद्धिकरण (मनि लान्डरिङ) को कार्य हो र साथै, यी चाम्स् एक्सचेन्जका मालिकले हिजबुल्लाहको लागि समेत पैसा ल्याउने, पठाउने गर्छन् ।’

अमेरिकी कुटनीतिक सुरक्षा संबन्धी सहायक मन्त्री माइकल इभानोफका अनुसार हिजबुल्लाहले इरान, अन्तर्राष्ट्रिय व्यवसाय र लगानी, दाताहरूको संजाल र अवैधानिक मुद्रा सुद्धिकरण (मनि लान्डरिङ) आदि गतिविधिहरूबाट वार्षिक रुपमा करीव १ अर्ब अमेरिकी डलर (करीव ११२ अर्ब नेपाली रुपैयाँ) संकलन गर्छ ।

‘यसरी संकलन गरिएका रकमहरू हिजबुल्लाहले विश्वभरी आफ्ना अवाञ्छनीय हरकत र कर्तुतहरू गर्नको लागि खर्च गर्छ । जस्तै : सिरियामा असदको तानाशाहीलाई सघाउ पुऱ्याउन हतियारधारी समुहको विकास, यमनमा इरान समर्थित हाउथी हतियारधारीहरूलाई सहयोग, अमेरिकी भुमिमा जासुसी संजालहरूको विस्तार, विश्वका विभिन्न भागहरूमा अवाञ्छित सैन्य क्षमतामा बढोत्तरी र यसले दाबी गर्दै आएको लक्ष्यमा मार हान्न सक्ने मिसाइल (प्रिसिसन गाइडेड मिसाइल) को स्वामित्व, आदि,’ इभानोफले भने ।

‘यस्ता आतंककारी गतिविधिहरू हिजबुल्लाहको वित्तीय सहयोगकर्ता र तिनका क्रियाकलापहरूको अन्र्तराष्ट्रिय संजालको आर्थिक सहयोग द्वारा परिचालित हुन्छन् । हामीले गरेको पुरस्कारको घोषणा, साथै प्रतिबन्ध लगायत हामीसँग उपलब्ध अन्य स्रोतहरूको परिचालनको मुख्य उद्देश्य त्यस्ता अवाञ्छित आर्थिक सहयोगहरूलाई रोक्नु हो,’ इभानोफले थपे ।

यसैगरि, प्रति–आतंकवाद (काउन्टर–टेररिज्म) मामिला संबन्धी अमेरिकी राजदुत नाथन सेल्सका अनुसार हिजबुल्लाहको बारेमा यदि कुनै कुराकानी हुन्छ भने त्यो इरानको राजधानी तेहरानबाट शुरु हुनुपर्छ ।

‘आज हामी हिजबुल्लाहको बारेमा कुरा गरिरहेका छौं, तर यसका बारेमा हुने हरेक वार्तालाप (कन्भर्सेसन) तेहरानबाटै शुरु हुनुपर्छ । इरान संसारकै आतंकवाद निर्यात गर्ने एक प्रमुख देश हो । यो कुख्यात उपमा यस देशको सत्ताले सन् १९८४ देखि नै पाउँदै आएको छ । इरानी सत्ताले संसारभरी आतंककारी गतिविधिहरू गराउन हरेक वर्ष झण्डै एक विलियन डलर खर्च गर्छ, जसमध्ये ७०० मिलियन डलर त हिजबुल्लाको लागि मात्र खर्च गर्छ,’ राजदुत सेल्सले भने ।

‘सन् २०१७ मा हिजबुल्लाहका दुइ जना मतियारहरू न्युयोर्क र मिचिगनबाट पक्राउ परेका थिए । हामीलाई विश्वास छ कि उनीहरू अमेरिकी सरकारी कार्यालयहरू र पनामा नहरको जासुसी गर्नको निम्ति खटिएका थिए,’ उनले थपे ।

अमेरिकी सरकारले सन् १९८४ देखि अहिले सम्म १५० मिलियन डलरभन्दा बढी रकम सयजना भन्दा बढी व्यक्तिहरूलाई आतंककारी गतिविधिहरूको बारेमा भरपर्दो जानकारी दिए वापत प्रदान गरिसकेको छ । आतंककारीहरूलाई कानुनको दायरामा ल्याउने, जेल हाल्ने र आतंकवादी हरकतहरूलाई नियन्त्रण गर्न सहयोग पुऱ्याउने सुचना वा जानकारी दिने व्यक्तिहरूलाई न्यायको निम्ति पुरस्कार (रिवार्डस् फर जस्टिस) कार्यक्रम अन्तर्गत अमेरिकी सरकारले पुरस्कृत गर्दै आएको छ ।