तातोपानी नाका सञ्चालनमा अडचन किन ?

तातोपानी नाका सञ्चालनमा अडचन किन ?


गत ०७२ को विनाशकारी भूकम्पका कारण सडक ध्वस्त भएपछि ठप्प हुन पुगेको तातोपानी नाका पुनर्सञ्चालनको विषय एक पेचिलो मुद्दा बनेर रहेको छ । नेपाली पक्षबाट जति नै चासो दर्शाए पनि तातोपानी नाका खोल्न छिमेकी मित्रराष्ट्र चीनले आवश्यक तदारुकता नदेखाइदिँदा यो नाका कहिले खुल्छ भन्ने अन्योल कायम नै छ । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने कम्युनिस्ट नेताहरूचाहिँ ‘छिट्टै खुल्दै छ तातोपानी नाका’ भन्दै बेला–बेला माहोल तताइदिन्छन् । केही दिनअघि मात्र पनि नेकपाका केन्द्रीय नेता एवम् सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटाले यस्तै दाबी गरे । उनका अनुसार नाका खुलाउन उनी लगातार लागिपरेका छन् भने अब छिट्टै नाका खुलाउन चीन पनि तयार रहेको जानकारी उनलाई प्राप्त भएको छ ।

तर, यस्तो दाबी गरिएको पहिलोपटक होइन । नेता सापकोटाले नै पटक–पटक यस्तो अभिव्यक्ति दिएका छन्, तर परिणाम भने हात लाग्यो शून्य नै छ । बरु सहजै तातोपानी नाका खुलाउन चीन अनिच्छुक रहेको सम्बद्ध विज्ञजनहरू बताउँदछन् । विज्ञहरूको यो धारणा निकै हदसम्म सत्यको नजिक रहेको आभास हुन्छ । अन्यथा, ‘आगामी वैशाख १८ गतेदेखि तातोपानी नाका सञ्चालनमा आउने’ भनी तीन–चार महिनाअघि नै मिति तोकिएको भए पनि सो तिथि नजिकिँदै गर्दा अन्योल कायम नरहनुपर्ने थियो ।

नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार ०७२ को भूकम्पपछि पूरै बन्द छ । तथापि, नाका सञ्चालनका लागि सीमा क्षेत्रमा काम भने ‘तीव्र’ गतिमा भइरहेको सरकारी निकायको दाबी रहँदै आएको छ । चिनियाँ उच्च स्रोतको हवाला दिएर सम्बद्ध निकायले ०७६ वैशाखदेखि नाका सञ्चालनमा आउने बताएको थियो । वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारको दाबी थियो भने मितेरी पुलको पुनर्निर्माण पनि शुरु गरिएको बताइएको थियो ।

काठमाडौंबाट एक सय एघार किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । वार्षिक २० अर्बको आयात र साढे २ अर्बको निर्यात गर्दै राज्यलाई पाँच अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरतिरको यो सबैभन्दा ठूलो नाका सञ्चालनमा ल्याउन गम्भीर ढङ्गले कूटनीतिक पहल गरिएको पाइँदैन । सरकारले गर्दै आएको भनिएको कूटनीतिक प्रयास र पहल निकै सुस्त छ या औपचारिकतामा मात्र सीमित छ । नाका बन्द हुँदा चीनको पनि व्यापारिक गतिविधि चौपट भएको सम्बद्ध व्यवसायी बताउँछन् । यसरी आफूलाई पनि घाटा पुगिरहेको छ भने किन चीनले नाका खुलाउन तदारुकता देखाएन त ? वास्तवमा यो प्रश्न अहम् महत्वको रहेको छ ।

यदि चिनियाँँ पक्षको मूल सरोकार नाकाको सुरक्षा–व्यवस्थाको सवाल नै हो भने तातोपानी नाका खुल्ने तिथि अझै अनिश्चित नै छ । तथापि, ‘चिसो कूटनीति’को निम्ति चिनिएको चीनले भित्रभित्रै अलग रणनीति बनाइरहेको पनि हुन सक्ने चीनलाई नजिकबाट अध्ययन गरेका जानिफकारहरूको तर्क छ ।

भूकम्पकोे एक वर्षपछि ०७३ असार २१ को भोटेकोसी बाढीले सडक, भौतिक संरचना तहसनहस बनाउँदा नाका सञ्चालनमा थप ढिलाइ हुन पुगेकै हो । त्यसयताका बर्खेबाढी र पहिरोले २६ किलोमिटर बाह्रबिसे–लिपिङ सडकखण्ड पनि तहसनहस भयो । भौतिक संरचनासमेत ध्वस्त भएपछि नाका खुलाउनेबारे दुवै पक्षमा अन्योल सिर्जना भएको थियो । तर, यदि चीनको चाहना र पहलकदमी हुन्थ्यो भने यतिले मात्र नाका सञ्चालनमा अवरोध पक्कै रहने थिएन ।
गृहसूत्रका अनुसार उक्त नाकासँग चीनको सुरक्षा सरोकार ज्यादा नै रहेको महसुस गरिएको छ । अन्य नाकाभन्दा तातोपानीलाई चीन सरकारले बढी प्राथमिकतामा राखेको छ, तर नाका खुलेसँगै नेपाल सरकारका तर्फबाट सुरक्षा मामलामा गरिनुपर्ने व्यवस्थाबारे चीन सशङ्कित छ । उतिबेलै तत्कालीन चिनियाँ राजदूत यु होङले नेपालको गृह मन्त्रालयले सुरक्षा प्रदान गर्नुपर्ने र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने सन्दर्भमा जानकारी गराएकी थिइन् । यसबारे यथार्थ विवरण भने गृह मन्त्रालयले बाहिर ल्याएको छैन ।

यसरी एकातिर सरकार मौन रहेको छ भने अर्कातिर नाकाका व्यापारीको दाबी बेग्लै रहेको छ । चीनको भित्री आशय तातोपानी नाका बन्द होस् भन्ने पक्षमा नै रहेको उनीहरू दाबी गर्छन् । यसमा उनीहरूको तर्क यो छ कि चीनको खासालगायतका क्षेत्रमा बसोवास गर्नेहरू चिनियाँ मूलका नभएर तिब्बती मूलका थिए । सीमाआसपासमा ‘फ्री–तिब्बत’ गतिविधि शुरु भएपछि त्यो आन्दोलनलाई तिब्बती मूलका नागरिकले सहयोग गरेको चिनियाँहरूको आशङ्का थियो । यसर्थ, कुनै बहानामा खासाआसपासमा बसेको तिब्बती मूलका नागरिकलाई चीनको केन्द्र सरकारले अन्यत्रै लैजान चाहन्थ्यो र त्यसको अवसर हेरेर बसेको थियो । भूकम्पलगत्तै खासाआसपासका नागरिकलाई चीन सरकारले अन्यत्र लगेर स्थानान्तरण गरिसकेको बताइन्छ । त्यहाँ बस्दै आएका फेरि त्यहीँ फर्कन चाहन्छन् भने चीन सरकारचाहिँ त्यस क्षेत्रमा ‘मेनल्यान्ड चाइनिज’हरूलाई नै ल्याएर राख्ने योजनामा रहेको सीमाका स्थानीयको भनाइ छ । यसैका लागि नाका सञ्चालनमा चिनियाँ आलटाल रहँदै आएको हो ।

यदि चिनियाँँ पक्षको मूल सरोकार नाकाको सुरक्षा–व्यवस्थाको सवाल नै हो भने तातोपानी नाका खुल्ने तिथि अझै अनिश्चित नै छ । तथापि, ‘चिसो कूटनीति’को निम्ति चिनिएको चीनले भित्रभित्रै अलग रणनीति बनाइरहेको पनि हुन सक्ने चीनलाई नजिकबाट अध्ययन गरेका जानिफकारहरूको तर्क छ । यस्तै, आज (११ बुधबार ०७६) देखि राष्ट्रपति विद्या भण्डारीबाट हुन लागेको मित्रराष्ट्र चीनको नौ दिवसीय भ्रमणका क्रममा चीनसँग हुने विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलअन्तर्गत चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने दाबी परराष्ट्र मन्त्रालयले गरेको छ । यससँगै तातोपानी नाका पनि महिना दिनभित्रै खुल्ने सरकारी दाबी छ । यस आधारमा भन्नुपर्दाचाहिँ तमाम अन्योल र पेचिला प्रश्नबीच निकट भविष्यमै तातोपानी नाका सञ्चालनमा ल्याउन चीन तत्पर भयो भने पनि आश्चर्य मान्नुपर्ने छैन ।