पथरी शनिश्चरेमा तनाव, दुई राउन्ड अश्रुग्यास प्रहार



मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच मंगलबार दिउँसो झडप भएको छ ।

आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जितबहादुर लावती घाइते भएका छन् । उनको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेको छ ।

पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालाबन्दी गरी स्थानीयवासीको भीड इलाका प्रहरी कार्यालयबाहिर नाराबाजीमा उत्रिएको थियो । सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । मंगलबार बिहानैदेखि पथरी बजारका पसल बन्द गरेर स्थानीयवासी आन्दोलित बनेका थिए । बिहान १०ः३० बजेदेखि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका शंकास्पद अवस्थाका सुन्दरहरैँचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एन्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए । वैशाख ६ गते राति स्थानीय रंगशालामा सञ्चालन भएको सांगीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत वैशाख ७ गते बिहानै आफ्नै कोठाअगाडि बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् ।

प्रतिक्रिया