तेक्वान्दोको ६ स्वर्णको लागि आज भिडन्त हुँदै

तेक्वान्दोको ६ स्वर्णको लागि आज भिडन्त हुँदै


आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलको स्पाइरिङतर्फ वैशाख ९ गते सोमबार विभिन्न ६ तौलसमूहका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । जसअनुसार पुरुष ८७ केजीमाथिको तौलसमूहमा नेपाली सेनाका रामहरि महत र नेपाल पुलिस क्लबका अनुज पुजारी फाइनलमा प्रववेश गरेका छन् ।

त्यस्तैगरी, महिला ७३ केजीमाथिको तौल समूहमा सुष्मा गुरुङ एपीएफ क्लब र नेपाल पुलिस क्लबकी मनिता शाही फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा पराजित गण्डकीकी मीरा गुरुङ र प्रदेश १ की पजु राईले कांस्य जितेका छन् ।

त्यसैगरी पुरुषहरूको ५८ केजीमुनि तौल समूहमा प्रदेश ५ का गोविन्दबहादुर आले र एपीएफका चन्द्र रानामगर फाइनलमा पुगेका छन् भने सेमिफाइनलमा पराजित नेपाली सेनाका सागर गुरुङ र सुदूरपश्चिम प्रदेशका रञ्जित साउदले कांस्य पदकमै चित्त बुझाएका छन् ।

त्यस्तै महिलाको ४९ केजीमुनि तौलसमूहमा एपीएफ क्लबका अस्मिता खड्का र नेपाली सेनाकी युनिसा राई फाइनल प्रवेश गरेका छन् भने सोही समूहको सेमिफाइनलमा पराजित प्रदेश १ की रक्षा धिमाल र गण्डकी प्रदेशकी राखी शर्माले कांस्य पदक प्राप्त गरेका छन् ।

उता पुरुषहरूको ५४ केजी तौल समूहमुनि एपीएफका गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्ल फाइनलमा प्रवेश गरेका छन् भने सोही समूहमा सेमिफाइनलमा पराजित प्रदेश ५ का नवराज बस्नेत र प्रदेश ३ का शैलेश गिरीले कांस्य जितेका छन् ।

त्यसैगरी महिला ४६ केजीमुनिको तौलसमूहमा सुदूरपश्चिमकी गीता कठेत र नेपाल पुलिसकी रेजिना कार्की फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा पराजित एपीएफकी संगीता श्रेष्ठ र प्रदेश १ की सुष्मिता राईले कांस्य जितेका छन् ।