एथलेक्टिसमा उत्कृष्ट प्रदर्शन गर्दै सेना टिम च्याम्पियन

एथलेक्टिसमा उत्कृष्ट प्रदर्शन गर्दै सेना टिम च्याम्पियन


नेपाल आर्मी आठौँ राष्ट्रिय खेलकुद एथलेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङको तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा सञ्चालित प्रतियोगितामा सशक्त र शानदार प्रदर्शन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कांस्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।

त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कांस्य हात पारेको सशस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउँदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कांस्य पदकका साथ तेस्रो भएको छ । त्यस्तै ५ प्रदेश १ स्वर्ण, ८ रजत र ६ कांस्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुंगो लागेको छ ।

वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो । नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पिएन बनेका छन् ।

४२ दशमलव १९५ किलोमिटर म्याराथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेकर्डमा सुधार गर्दै च्याम्पियन बनेका हुन् । त्यस्तै प्रदेश ६ का दुर्गाबहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सेकेन्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे ।

त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेकर्ड बनाउँदै पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दूरी पार गर्दै एपीफकी पुष्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासीले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् ।
दाङको बेलझुन्डी रंगशालाबाट सुरुवात गरिएको म्याराथनको रुट हेमन्तापुर, बिजौरी, पर्सेनी, तुलसीपुर, दोघरे, दुधेना, अश्वरा, डाँडाचिस, कुमलगढी, मिरौली, बागर हुदै श्रीगाउँबाट पुनः सोही ट्रयाक हुँदै बेलझुन्डी रंगशालाको सेन्थेटिक ट्रयाकमा एक राउन्ड लगाएर अन्त्य गरिएको थियो । म्याराथनमा पुरुषतर्फ १५ र महिलातर्फ ६ जना खेलाडी गरी २१ जनाले भाग लिएका थिए ।