पुरुष फुटबलमा ५ नम्बर समूहविजेता

पुरुष फुटबलमा ५ नम्बर समूहविजेता


बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेश समूहविजेता बनेको छ । अन्तिम खेलमा ३ नम्बर प्रदेशसँग बराबरी खेल्दै ५ नम्बर प्रदेश समूह ‘क’को विजेता बनेको हो । यो समूहबाट एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ ।

वैशाख ९ गते सोमबार बिहान भएको ५ नम्बर र ३ नम्बर प्रदेशबीचको खेल २–२ गोलमा टुंगिएको थियो । शुरुवाती अग्रता ३ नम्बर प्रदेशले लिएको थियो । तीन मिनेटमै धीरज तामाङले गोल गरेका थिए । खेललाई बराबरी गर्न ५ नम्बर प्रदेशलाई २९ मिनेट लागेको थियो । ३२ मिनेटमा दीपेन्द्रसिंह ठकुरीले गोल गरेर ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याएका थिए । ३५ मिनेटमा सन्जु सेनले गोल थपेपछि ५ नम्बरले अग्रता बढाएको थियो । खेल सकिन २ मिनेट बाँकी रहँदा ७८ मिनेटमा ३ नम्बर प्रदेशका कुशल श्रेष्ठले गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

५ नम्बर प्रदेशलाई समूहविजेता हुन बराबरी नै काफी थियो । बाँकेमा खेलाइएको समूह कमा ५ नम्बर प्रदेश दश अंकसहित विजेता तथा एपीएफ नौ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । रुपन्देहीमा भएको अर्को समूहबाट प्रहरी विजेता र आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । वैशाख १० गते मंगलबार बिहान नेपालगञ्ज रंगशालामा पहिलो सेमिफाइनल खेल ५ नम्बर प्रदेश र नेपाल आर्मीका बीचमा हुनेछ ।

त्यस्तै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको बेलझुन्डीमा वैशाख १० गते मंगलबारदेखि सेमिफाइनलका खेल हुने भएका छन् । फाइनल प्रवेशका लागि प्रदेश ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन् । पहिलो सेमिफाइन खेल बिहान ८ बजे हुनेछ भने दोस्रो खेल दिउँसो २ बजेपछि हुनेछ ।