राजपामा पन्पियो ‘महाधिवेशन-राजनीति’

राजपामा पन्पियो ‘महाधिवेशन-राजनीति’


आफूलाई तेस्रो शक्ति भन्न रुचाउने राजपा यतिबेला महाधिवेशनसम्बन्धी सवालको घेरामा परेको छ । एकीकृत पार्टी घोषणाको दुई वर्ष बित्दा पनि महाधिवेशन गर्न नसक्दा मधेसकेन्द्रित यो दल सामुहिक नेतृत्वकै ‘जकड’मा अल्झिएको छ । अध्यक्ष मण्डलका ६ सदस्यबीच आलोपालो नेतृत्व लिने सहमतिअनुसार यतिबेला शरतसिंह भण्डारीले पार्टीको संयोजकत्व सम्हालिरहेका छन् ।

यही वैशाख ७, ८ र ९ गतेका लागि घोषित पार्टीको महाधिवेशन स्थगन गरिएपछि राजपा नेतृत्वको क्षमतामाथि प्रश्न खडा भएको छ । फुट र जुटको राजनीतिबाट यहाँसम्म आइपुगेका मधेशकेन्द्रित विभिन्न ६ राजनीतिक शक्तिको गठजोड यो दलले यतिखेर पार्टी संगठन सुदृढीकरणको अभियान अघि बढाइएको दाबी पनि गरेको छ ।

नेतृत्वले सुदृढीकरणको दाबी गरे पनि गत २०७४ वैशाख ८ गते पार्टी एकता घोषणासभामा राजपा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । अन्तरपार्टी असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र रडाको मच्चिएको छ । संविधान संशोधनलगायत मुद्दामा संघर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि समर्थन फिर्ता लिने अपरिपक्व निर्णय लिएर यतिबेला पछुताइरहेको छ ।

नेतृत्वको महत्वकांक्षी र परिपक्क एजेण्डाको अभावमा राजपा रुमलिन पुगेको स्पष्टै छ । दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो । पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे । पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमलिएको छ । नेता–कार्यकर्तामा सन्त्रास पैदा भएको छ । गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन । पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ । महाधिवेशन स्थगनको सन्दर्भ पनि यसैको उपज हो ।

महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो । पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो । उक्त निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ । अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारी, शीर्षनेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशन (विशेष महाधिवेशन)को पक्षमा रहेका छन् भने महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् । विशेष महाधिवेशको नाममा पार्टीलाई यथास्थितिमा राख्ने दुर्नियत गरिएको उनीहरूको आरोप छ ।

महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ । त्यस्तै, संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउनेसम्बन्धी प्रस्ताव छ ।

बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न नसकेको राजपाले एकताको महाधिवेशनसँगै अन्य मधेश केन्द्रित राजनीतिक शक्तिसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ ।

पदाधिकारी समितिको बैठकमा उक्त विषयले प्रवेश पाए पनि राजपाभित्रै बेइमेल रहेकाले उक्त प्रक्रियाले सार्थकता पाउने या नपाउने भन्ने अन्योल नै रहेको बताइन्छ । संघीय समाजवादी फोरम नेपालसँग एकीकरणका लागि दुई चरणमा पत्राचार आदन–प्रदान भइसकेको छ । तथापि पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन ।

यतिखेर राजपा महाधिवेशनको संघारमा उभिएको छ । केही महीनाअघि वर्तमान सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको राजपाले पुनः फर्किने वा एजेण्डामा केन्द्रित हुने भन्नेबारे अलमलमै छ । अर्कोतर्फ आफ्ना मुद्दामा विचार मिल्ने शक्तिसँग गठबन्धन गरी संघर्षमा जाने बताएको राजपा आफैँभित्रको तालमेल मिलाउन सकेको छैन ।