उसुमा सागकी स्वर्णधारी निमा र मीनालाई स्वर्ण

उसुमा सागकी स्वर्णधारी निमा र मीनालाई स्वर्ण


आठौँअन्तर्गत १४औँ राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीका द्वय १२औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्तीमगर र मीना ग्लानले स्वर्ण जितेका छन् । महिला नान्छवान नान्तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए ।

महिला थाइचीछ्वान–थाइचीचेनमा आर्मीकी मीना ग्लान १८.२१ अंकका साथ पहिलो भइन् । मीनाले १२औँ सागकी रजतविजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन् ।

पुरुष थाइची छ्वान–थाइची चेनमा आर्मीका हरिप्रसाद गोले पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोस्रो तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने । पुरुष नान छ्वान–नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत सान्सौँको पुरुषतर्फ विभिन्न ८ तौलसमूहको फाइनल सम्पन्न भएको छ । पुरुष ५२ केजीमा एपीएफका अशोक खालिङ पहिलो भए । फाइनलमा उनले प्रदेश ३ का रोशन अछामीलाई पराजित गरे । ५६ केजीमा प्रहरीका पदम ठकुल्लाले फाइनलमा एपीएफका अमर सुनारलाई हराउँदै स्वर्ण जिते । ६० केजीमा एपीएफका मंगलप्रसाद थारूले पहिलो स्थान हात पारे । उनले फाइनलमा कर्णालीका राजेन्द्र शाहीको चुनौती समाप्त पारे । ६५ केजीको फाइनलमा एपीएफका सञ्जीव महर्जनले सुदूरपश्चिमका सुभाल भुल सोठीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे ।
पुरुष ७० केजीमा आर्मीका चित्रसिंह ठकुरीले प्रदेश ५ का रुद्रप्रसाद सारु, ७५ केजीमा आर्मीका पदम राईले एपीएफका अनिश शाही, ८० केजीमा आर्मीका शिवजी सिलवालले एपीएफका निकेश श्रेष्ठ तथा ८५ केजीमा आर्मीका किरणसिंह साउदले एपीएफका भूपेन्द्र शाहलाई फाइनलमा पन्छ्याउँदै स्वर्ण हात पारे ।