राप्रपा र सरकारबीच आज वार्ता हुने

राप्रपा र सरकारबीच आज वार्ता हुने


राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेकामा सरकारले उक्त पार्टीलाई आज (मंगलबार) वार्ताको लागि बोलाएको छ । यसबाट आशावादी बनेको राप्रपाले वार्तामा बोलाएकामा सरकारी पहलकदमीको स्वागत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको तर्फबाट गत आइतबार राप्रपालाई वार्तामा सरिक हुन पत्र पठाएका थिए ।

गत फागुन ७ गते सरकारसमक्ष पेश गरेको हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गर्न राप्रपालाई सरकारले वार्तामा आमन्त्रण गरेको हो ।

सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।