आधार ब्याजदर घटाए पनि बैंकले घटाएनन् कर्जाको ब्याजदर

आधार ब्याजदर घटाए पनि बैंकले घटाएनन् कर्जाको ब्याजदर


बैंकहरुले लिने कर्जाको ब्याजदर चासोको विषय बनेको छ । ब्याजदरकै विषयलाई लिएर व्यवसायीहरु आन्दोलित पनि भए । तर बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएपनि कर्जाको ब्याजदर भने घट्न सकेन ।

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएपनि कर्जाको ब्याजदर भने बढाएका छन् । बैंकहरूले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो । नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४ दशमलव ७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३ दशमलव ५५ प्रतिशत कायम भएको जनाएको छ । वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७४ फागुनको ४ दशमलव ८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५ दशमदलव १५ प्रतिशत कायम भएको छ ।

यस्तै, वाणिज्य बैंकहरूको औसत आधार दर २०७४ फागुनको १० दशमलव ३६ प्रतिशतको तुलनामा २०७५ फागुनमा ९ दशमलव ६५ प्रतिशत कायम भएको हो । २०७५ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् ।

आधार दर गणना विधिलाई पालना भए नभएको बारे छानविन गरी कडाइसमेत थालेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांकले भने जति कडाइ गरे पनि कर्जाको ब्याजदर घट्न नसकेको स्पष्ट देखिन्छ । निक्षेपको भारित औसत ब्याजदरमा भने केही सुधार भएको छ । प्रतिवेदन अनुसार २०७५ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत रहेको प्रवक्ता पौडेलको भनाई छ ।

वाणिज्य बैंकको आधार दर घटे पनि कर्जाको ब्याजदर नघटेकोप्रति उद्योगी व्यवसायीहरूको गुनासो छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर निर्धारण गर्ने मापदण्ड आधार दर हो । आधार दरमा बैंकहरूले प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । राष्ट्र बैंकले कर्जामा बढी दबाब नपरोस् भन्दै केही महीनाअघि आधार दर गणना विधिमा परिवर्तन गरेको थियो । नयाँ व्यवस्था अनुसार आधार दर गणना गर्दा सम्पत्तिमा प्रतिफलबापत शून्य दशमलव ७५ प्रतिशत जोड्नुपर्ने प्रावधान हटाइएको थियो । यो व्यवस्थाले आधार दर घटेर कर्जाको ब्याजदर पनि घट्नुपर्ने हो । तर, कर्जाको ब्याजदर उल्टै बढेको छ । यसअघि ब्यवसायीहरुले ब्याजदर बढि भएको भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।