रोहिणी गाउँपालिकामा विद्यार्थी भर्ना निःशुल्क

रोहिणी गाउँपालिकामा विद्यार्थी भर्ना निःशुल्क


  • पुनहरि बेल्बासे, रुपन्देही

रुपन्देहीको रोहिणी गाउँपालिकाले सबैको पहुँचमा शिक्षा पुग्नुपर्ने भन्दै गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयले शैक्षिक सत्र २०७६ को निःशुल्क भर्ना गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिका शिक्षाको पहुँचबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क भर्ना अभियान शुरु भएको बताइएको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले गाउँपालिकाभित्र रहेका बिद्यालयहरुलाई विद्यार्थीबाट भर्नाशुल्क नलिन निर्देशन दिएका छन् । ‘विद्यार्थी र उनीहरुको अभिभावकको रगत पसिनाको कमाई चुसेर बिद्यालयले आफनो बैंक ब्यालेन्स बढाउनु गलत हो’, यादवले भने, ‘त्यसकारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा भर्ना शुल्क लिन दिन्न ।’

रामनरेश यादव आदर्श माध्यमकि विद्यालयका कक्षा ११ का विद्यार्थीले कक्षा १२ को विद्यार्थी बिदाई कार्यक्रममा बोल्दै उनले यसै शैक्षिक सत्रदेखि नै भर्ना निःशुल्क गरिएको उनले बताए । यसको लागि गाउँ शिक्षा समितिबाट समेत निर्णय भइसकेको यादवले जानकारी दिए । स्थानीय तहले अब सबै विद्यालयको अनुगमन गर्ने उनले बताए ।

रामनरेश यादव माध्यमिक बिद्यालयले महिनाको तीन लाख खर्च हुने प्रस्ताव राखेको र वार्षिक ३६ लाख विद्यालयले उठाउनै नसक्ने यादवले दाबी गरे । उनले यो रकम विद्यार्थीबाट उठाउन खोज्नु पनि गलत भएको टिप्पणी गरे । बिद्यालयहरुलाई सक्रियतापूर्व घरदैलो गरी भर्ना अभियान बढाउन उनले निर्देशन दिए । जति विद्यार्थी भर्ना हुन्छन ती सबै विद्यार्थीको भर्नावापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने उनले बताए ।

कुनै पनि हालतमा रोहिणी गाउँपालिकाका सामुदायिक विद्यालयहरुले भर्नाशुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न उनले विद्यालयहरुलाई निर्देशन दिएको बताए ।

विद्यालयको कोष बढाएर कतिपय विद्यालयका कर्मचारी र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरिरहेको उजुरीहरु गाउँपालिकामा आइरहेको उनले बताए । अबका दिनमा कोष बढाउन भन्दा पनि शैक्षिक स्तर उकास्न उनले विद्यालयलाई आग्रह गरे ।

यसै विषयमा वैशाख ६ गते बसेको गाउँ शिक्षा समितिले निर्णय गरिसकेको हुँदा सोही निर्णयअनुसार गर्न उनले रोहिणी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय र मदरसाहरुलाई परिपत्र गर्ने जानकारी दिए ।