छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् । मेचीनगर–९ मा रु लाख २० हजार रुपैयाँको लागतमा निर्मित चारकोठे घर मेचेलाई सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किंदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुसीका आँसु झारेकी थिइन् ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरिद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँटाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ ।
देवीमाया शारीरिक रूपमा छिन् । उनको एउटा हात बिहेअघि नै करेन्ट लागेका कारण काटेर फाल्नुपरेको थियो । बच्चा स्याहार्ने, खाना पकाउने, लुगा धुनेलगायत सबै काम उनी एउटै हातले गर्छिन् । उक्त भवनमा भान्साका सबै सामान, काठको पलङ, भाँडाकुँडा, सौर्य उपकरण, बिजुली पंखा, सिसाको झ्याल, सिमेन्टको भुइँ, टायल बिछ्याइएको शौचालय, धारालगायतको व्यवस्था गरिएको घर निर्माण समितिका सचिव टीकाराम मग्रातीले बताए ।
देवीमायाको नाजुक अवस्था सार्वजनिक भएपछि दुई महिनाअघि स्थानीयवासीले विजय डालमियाँको संयोजकत्वमा घर निर्माण सहयोग समिति गठन गरेका थिए । समितिले देशविदेशका नेपालीबाट स्वस्फुर्त जुटेको सहयोगबाट घर निर्माण गर्नुका साथै आगामी दिन देवीमायाको जीवननिर्वाहका लागि रु. पाँच लाख कोषमा राखिदिने योजना बनाइएको उनले बताए । गृहप्रवेश कार्यक्रममा बोल्दै जग्गादाता शर्माले देवीको घर, घर मात्र नभएर मन्दिर बनेजस्तो अनुभूति भएको बताए । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले गर्न नसकेको काम स्थानीयवासी आफँैले गरेर देखाइदिएको बताए ।
प्रतिक्रिया