‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’

‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’


चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् । नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताए ।

एक देशका चित्रकार अर्काे देशमा गएर चित्र बनाउँदा दुई देशको सम्बन्ध प्रगाढ हुनुका साथै पर्यटन प्रवद्र्धनमा समेत देवा पुग्ने कुलपति कर्माचार्यको भनाइ थियो । चीनका १८ चित्रकारले विगत १० दिनदेखि काठमाडौँका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा बसेर चित्र कोर्दै आएका छन् । उनीहरुले नेपाली कला संस्कृति र जीवनशैली समेटिएका तस्वीर क्यान्भासमा उतारेका छन् ।

नेपालमा बनाइएका तस्वीरलाई चीनमा प्रदर्शन गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् । चिनिया कलाकारको नेतृत्व गरेका चित्रकार चु चेङ याङले नेपाली कला र संस्कृतिले आफूहरुलाई लोभ्याएको बताउँदै नेपालीमा सहयोग भाव देखिएकोमा खुशी व्यक्त गरे ।

उनीहरुले स्वयम्भू, पशुपतिनाथ, पाटन दरबार स्क्वायर र काठमाडौँ दरबार स्क्वायर, नगरकोट, पोखरा, भक्तपुरलगायत क्षेत्रमा पुगेर क्यान्भासमा चित्र उतारेका छन् ।

काठमाडौँमा नेपाल­चीन शैक्षिक मेला

शिक्षामा दुई मुलुकका शैक्षिक सङ्घ संस्थाबीच सहकार्य बढाउन र विद्यार्थीका लागि जानकारी आदानप्रदान गर्ने उद्देश्यले आइतबारदेखि काठमाडौँमा ‘दोस्रो बेल्ट एण्ड रोड नेपाल­चीन शैक्षिक मेला’ शुरु भएको छ ।

दुवै मुलुकका विश्व विद्यालय तथा शैक्षिक सङ्घ संस्थाका २८ स्टल रहेको शैक्षिक मेलामा विभिन्न विश्व विद्यालयले उपलव्ध गराउने सेवा, भाषा शिक्षा, तथा शिक्षासँग सम्बन्धित विविध विषयमा जानकारी लिन सकिने आयोजक चिनियाँ भाषा शिक्षक सङ्घ नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

चीनको संस्था ‘स्टोरी चाइना’को सहकार्यमा काठमाडौँको त्रिपुरेश्वरमा शुरु भएको मेला तीन दिनसम्म चल्ने छ ।

मेलामा सान्तोङ विश्व विद्यालयल, सान्तोङ कमर्स टेक्नोलोजी विश्व विद्यालय, छुइफु नर्मल विश्व विद्यालय, सेन्ट्रल चाइना विश्व विद्यालयसहित आठ वटा चिनियाँ विश्व विद्यालय सहभागी रहेको छ ।