मधेसकेन्द्रित दलहरूलाई सीके राउतको चुनौती !

मधेसकेन्द्रित दलहरूलाई सीके राउतको चुनौती !


‘पृथकतावादी आन्दोलनको अगुवा’का रूपमा चर्चित हुँदै यतिबेला नवगठित जनमत पार्टीका अध्यक्ष रहेका डा. सीके राउतले आफूले सरकारसँग गरेको ११बुँदे सहमतिपछि मधेसमा राजनीतिको पसल थापेर जनता अल्मल्याउँदै आएका व्यक्ति तथा समूहहरूको पसल बन्द हुन पुगेको र त्यसबाट अत्तालिएर आफूविरुद्ध दुष्प्रचार शुरु गरेको आरोप लगाएका छन् ।

बाँकेको जानकी गाउँपालिका–६ गनापुरस्थित कपासीमा आइतबार आयोजित एक आमसभालाई सम्बोधन गर्दै राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन आफूले पार्टी गठन गरेको दाबी समेत गरे ।

मूलधारको राजनीति गरिरहेका मधेसकेन्द्रित दलहरूतर्फ लक्षित हुँदै आक्रोशपूर्ण लवजमा उनले भने– ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।’

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको सीके राउतको दाबी छ । युवालाई रोजगार दिएर मधेशलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको नयाँ पार्टी गठनपछि उनले बताउँदै आएका छन् ।