अङ्ग्रेजीबाट पढाउन सक्दिनँ भनेर अब सुख नपाइने !

अङ्ग्रेजीबाट पढाउन सक्दिनँ भनेर अब सुख नपाइने !


सरकारले सामुदायिक विद्यालयमा नेपालीबाहेक सबै विषय अङ्ग्रेजीमा अध्ययन-अध्यापन गराउन गृहकार्य गर्नेबारे सोचिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

बनेपा नगरपालिका–१ सिमलडाँडास्थित महाङ्काल आधारभूत विद्यालयको नवनिर्मित नौकोठे चार भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई आइतबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपालीबाहेकका सबै विषय अङ्ग्रेजीमा शिक्षण गराउने प्रक्रियाअन्तर्गत आउँदो वर्ष नर्सरीदेखि नै अङ्ग्रेजीमा कक्षा सञ्चालन गर्नेबारे अहिलेदेखि नै गृहकार्य गर्न सरकारले सोचिरहेको खुलासा गरेका हुन् ।

शिक्षकलाई अङ्ग्रेजी विषयमा शिक्षण गर्नका लागि तयार रहन आग्रह गर्दै उनले भने– ‘सरकार शिक्षामा आमूल परिवर्तन गर्ने तयारीमा छ, अङ्ग्रेजीबाट पढाउन सक्दिनँ भनेर अब सुख पाइन्न ।’ आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर शिक्षा महँगो भन्नु हास्यास्पद भएको उनको धारणा थियो ।

सरकारले पहिलो चरणमा सुविधासम्पन्न भवन बनाउने र त्यसपछि शिक्षामा गुणस्तर ल्याउने दाबी उनले गरे । सामुदायिक विद्यालयका शिक्षकले सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाउन छुट्टै कानून बनाउन लागिएको पनि मन्त्री बाँस्कोटाले बताए ।

‘सरकारी लगानी, बालुवामा पानी’ हुन नदिइने जिकीर गर्दै उनले नेपालमा दुईथरी शिक्षा सम्भव नभएको र अब सबै नेपाली बालबालिकाले एउटै शिक्षा ग्रहण गर्ने उल्लेख गरे ।

pic: rss