सहकार्यका लागि राप्रपाको बेग्लै कार्यदल

सहकार्यका लागि राप्रपाको बेग्लै कार्यदल


राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दूराष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको हो ।

पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोस्रो चरणको सङ्घर्षलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा राजेन्द्र लिङ्देन, डा. धवलशम्शेर राणा, भाष्कर भद्रा, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात दिनभित्र कार्ययोजना पेश गर्ने पार्टीले जनाएको छ ।

गत फागुन ७ गतेदेखि शुरु गरेको जनसङ्घर्षका क्रममा मेची–महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्रका लागि देशव्यापी हस्ताक्षर सङ्कलन अभियान, सङ्घ, प्रदेश र सबै जिल्लाका प्रशासन कार्यालयमा धर्नालगायत कार्यक्रम सफल भएको निष्कर्ष बैठकले निकालेको छ ।