उपचारको क्रममा पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

उपचारको क्रममा पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन


महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको आइतबार बिहान निधन भएको छ । पाँच–६ दिनअघि अचानक बिरामी भई हेलिकोप्टरमार्फत काठमाडौं लगिएका ४५ वर्षीय चौधरीको आइतबार उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए ।

राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आइतबार बिहान १० बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए । अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटकपटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए । पाँच–६ दिनअघि पुनः एक्कासि बिरामी भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । चौधरीको शव जिल्ला ल्याउने तयारी भइरहेको छ ।