कैदीको रगतले सुत्केरीको ज्यान बच्यो

कैदीको रगतले सुत्केरीको ज्यान बच्यो


सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगिएकोे छ । रोल्पा जिल्ला गंगादेव गाउँपालिका–७ की २१ वर्षीया मनीषा केसी ओलीको सल्यान जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गरेकी थिइन् । ‘अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हुँ,’ पूजाले भनिन् ।

गत शुक्रबारदेखि नै घरमै बेथा लागेकी मनीषालाई शनिबार बिहान जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । पेटमा रहेको बच्चाको मृत्यु भइसकेकाले शल्यक्रिया गरेर निकालिएको चिकित्सक प्रदीप शर्माले बताए । ‘जिल्लामा ब्लड बैंक छैन, शल्यक्रिया गर्नुपरेमा रक्त समूह मिल्ने व्यक्तिलाई फोन गरेर अस्पतालमा बोलाएर रगत झिक्छाँै,’ उनले भने ।