अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति



अनुभूति

■ प्रकाश केसी

‘… बत्ती चाहिँ ननिभाउनू सुत्ने बेलामा…’ भनेकोले ननिभाई सुते पनि आँखा भने उस्तै सिलिङमा झुण्डिएको बिजुलीको चिमजसरी बलिरह्यो । भित्तामा जीवन्त लाग्ने, परिवारका थरिथरिका तस्बिरहरू फ्रेममा दुरुस्तै मिलाएर टाँगिएका थिए । बुबा–मुमाले जतनसाथ हाम्रो परिवारका तस्बिरहरू राख्नुभएको थियो । छोराबुहारीहरू, छोरी-ज्वाइँहरु अनि नातिनातिनीहरूका तस्बिरहरूहरूको सिरानीमा आफ्ना अर्थात् बुबामुमाको ठूलो तस्बिर झुण्डिएको भित्तामा मेरा आँखाहरू टोल्हाइरहन्छन् । हामी सबै छौँ, अहिले उहाँहरू दुबै हुनुहुन्न । मात्र, तीन महिनाको अन्तरालमा उहाँहरू एकपछि अर्को हुँदै हामीबाट टाढा जानुभयो । अनि छोड्नुभयो सम्झनाहरूका अनगिन्ती प्रसङ्गहरू…. !

‘राधाकृष्ण’बाट ‘बिजुली’ नाम राख्ने रहर लहडको थिएन उहाँको । हजुरबाबा र हजुरआमाले पक्कै पनि सोचेर र विचारेर राखेको नाम हुनुपर्थ्यो त्यो तर उहाँ त्यो नाम त्यागेर कानूनी रुपमा आफ्नो नाम बिजुलीबहादुर राख्नुभयो, मुख्य कारण भनेको आमाको नाम तेजकुमारी हुनु थियो । उहाँहरू आफ्नो संसारलाई एक किसिमले व्यवस्थित नाम दिन चाहनुभयो र त्यो संसारमा रोशनी, ज्योत्स्ना, प्रकाश, ज्योति, दीपक अनि किरणको प्रकाशमय उदय भयो । कालान्तरमा समय, परिवेश, परिस्थिति अनि सामाजिक संरचनामा आवद्ध हामीहरू तितरबितर भयौँ । दिदीबहिनीहरू नेपालको अर्को कुनामा अनि म संसारकै पल्लो कुनामा बस्न पुगेँ । उहाँका संरचनामा केवल भाइ आफ्नो परिवारसहित उहाँको नै साथमा रहन पुग्यो ।

आखिर के रहेछ त जीवन ? के रहेछ त रहर अनि त्यसको बोध ? खासगरी गत तीन महिनादेखि यसबारेमा ज्यादा सोँच्दै छु । जति सोच्छु, त्यति बिरक्त लाग्दछ, त्यति नै दिग्दारी जगाउँदछ । म हङकङ बस्नेताका बुबाले भन्नुहुन्थ्यो– ‘जे र जति जग्गा छ त्यसैमा एउटा स्वीट होम बनाऔँ ।..’ म अन्यत्रै र अर्कै जग्गा किन्ने सोच–सुरमा थिएँ । उहाँले आफ्नै सोचमा आफ्नै रहर आखिरमा पूरा गर्नुभयो । सानो ठाउँमा नै तीनतले घर बनाउनुभयो । छतमा चारैतिर दर्जनौँ गमलामा थरिथरिका फूलहरू उमारेर सानो फूलबारीसहितको संसार बनाउने रहर आमाको रहेको हुँदो हो । साथको एक कुनामा सानो मन्दिर अनि मन्दिरमा ठूलो आस्था बोकेको सानो मूर्तिको स्थापना गर्ने पनि आमाको नै रहर हुँदो हो । विहानीपख उत्तरतर्फको माछापुच्छ्रे हिमालतर्फ हेर्दै चिया पिउनुको मज्जालाई बुबाले कहिले पनि शब्दमा उतार्नुभएन, तर उहाँको अनुहारमा अनि बसाइमा अत्यन्तै शान्ति र शालिनता छाउँथ्यो भन्ने सजिलै मानिन्थ्यो । ..काठमाडौंमा सरौँ… भन्ने हाम्रो आग्रहलाई उहाँले नकार्नुभएको थियो । विहानै दक्षिणतर्फ रानीबनको हरियालीलाई पारेर अनि उत्तरतर्फ माछापुच्छ्रेको हिउँको चम्किलोलाई राखेर मर्निङ वाक गर्नुमा अर्कै किसिमको मस्तीको तर्जुमा उहाँ अवकाशप्राप्त जीवनको लागि गरिसक्नु भएको थियो पहिल्यै ।

तीन महिनाको अन्तरालमा दुबै जानुभयो अनन्तमा, कहिल्यै नफर्किने गरेर । म अक्सर भन्ने गर्दछु, मानिसहरू वृद्धावस्थामा एक यस्तो आस्थाको रचनामा लिप्त हुन्छन् जसमा नयाँ संसारको अनि नयाँ जीवनको बाटो देखाइन्छ । तर त्यसरी उहाँहरूको दिनचर्यामा भोलिको कल्पना हट्ने गरेर निष्कृयता रहेको थिएन, त्यसर्थ दुबैजना त्यसरी एकोहोरो हुनुभएन । एकपछि अर्को गर्दै जानुभयो । आमा बित्नुभएपछि धार्मिक प्रपञ्चका प्रयत्नहरू गरिए । घरमा तुरन्तै विपद नहोस् भनेर कार्यहरू गरिए, आमाको आत्मालाई मुक्ति गरियो, दिइयो । समाजबाट शान्तिको कामना गरियो । तर तीन महिनाभित्रै हाम्रो परिवार अशान्त रह्यो ।

यो सब आफ्नै ठाउँमा छ, त्यसको कुरा नगरौँ । यता घरको छत उस्तै छ तर फूलहरू थरिथरि गरेर फुल्न छाडेको वर्षौं भएको छ । उहाँहरू दुबैले सिँढी चढ्न छाडेको वर्षौं भएको थियो । त्यो छतबाट टलक्क र झलझली देखिने माछापुच्छ्रे हिमाल छेकिएको छ । पैसावाला छिमेकीले अग्लो घर बनाएर लगभग छेकिदिएको छ । उमेरहरूले बुढ्यौलीका सिँढीहरू चढ्दै गएपछि बुबामुमाका गोडाहरूले घरका सिँढीहरू चढ्न छाडेका थिए । समयको त्यो प्रहरमा उहाँहरूका रहरले भने त्यो बाध्यतालाई कसरी आत्मसात गर्न सक्यो, त्यो थाहा पाउन सकिएन । सोध्न भ्याइएन अनि उहाँहरूले बताउनु पनि भएन, त्यसरी त्यो अर्थमा खुल्नु भएन । अहिले घर छ, घरमा सिँढीहरू छन्, उहाँहरूले जतनसाथ साँचेको उहाँहरूका रहरहरूका धरोहरहरू छन्, धेरैथरि जस्ताको त्यस्तै छन्, दुरुस्तै छन् ।

उहाँहरू दुबै तर हुनुहुन्न । उहाँहरूको उपस्थितिमा अटल र अजर लाग्ने अभिभावकत्वको आभाससम्म छैन । कोठाको कुनाबाट विहान–विहानै रेडियोबाट समाचारहरू सुनिँदैन । माथिको मन्दिरमा विहान–विहानै घण्टीहरू बज्दैनन् । उहाँहरू दुबैका आआफ्ना समय र उमेरसापेक्षित गनगनहरू सुनिँदैनन् । उहाँहरूलाई भेट्न र उहाँहरूसँग बोल्न आउने साथीहरूसँगका उहाँहरूको तुक अनि बेतुकका गफहरू र छोराछोरीसँगका गुनासाहरू सुनिँदैनन् । अखबारवालाले बाहिरै फालेर गएका पत्रिकाहरूमा तातोतातो समाचारहरू उपरका टिकाटिप्पणीहरू सुनिँदैनन् । ठेलगाडीमा सागसब्जी बेच्न ल्याउनेसँग गर्दै गरेको मोलमोलाइको कडीकडाइ सुनिँदैनन् । ती सबैबाहेक आखिरमा यो घर र परिवेशमा सबै छन् ।

आमाको पालोमा आएको पण्डित नै छन् योपालि पनि । त्यही किरियापुत्री भवन, त्यही धारो, त्यही कुना जहाँ १३ दिनसम्म ढिकुर बनाएको ठाउँ, त्यही पिण्ड अस्त गर्ने तालको छेउ तर केचाहिँ बदलिएको छ भने, आमाको सम्झनामा किरियापुत्री भवनको बाहिर नामसहित राखिएको बेञ्च थपिएको छ । स्वर्गीय आमाको सम्झनामा बाँकी रहेको एक कुनामा स्थायी रुपमा राखिदिएका थियौँ नामसहितको त्यो बेञ्च, आज त्यहाँ नै बसेर सोँचे..यो तीनमहिनापछि अरु के के बदलिएछ आमाबिनाको यो संसारमा । शिरको कपाल राम्ररी नपलाउँदै आजै फेरि पण्डित आफैले मुडुलो बनाइदिएका छन् । तीन महिनाअगाडिकै नापमा पण्डित आफैले मेरोलागि सेतो कोराको कपडा पहिराइदिएका छन् । मन एकतमासको भएको छ ।

सबै उस्तै छन्, दुरुस्तै छन् । छिमेकीहरू आउँथे, आएका छन् । मुमाका साथीहरू उस्तै छन्, घाम ताप्न अनि ओझेलमा बस्न आउँथे, आएका छन् । बुबाका साथीहरू लौरो टेकेर हिँड्थे, हिँडिरहेका छन् । घरभरि आफन्तहरू थिए, छन् तर यी सबैबीचमा मेरो बुबा हुनुहुन्न, मुमा हुनुहुन्न । परिवार पूरा छ बुबामुमाबाहेक । छरछिमेकीहरूका आँखामा ज्यादा सहानुभूतिको राप हुँदो हो, त्यसको रापको आभास मात्रैले पनि आँखालाई रसाइदिन थाल्छ । ..साह्रै माया गर्दथिईन् तिम्री आमा तिम्रा बाबालाई, आफैसँग लिएर गईन् । राम्रो भयो । उनीहरूले शान्ति पाए । तिमीहरूलाई माथिबाट हेर्दै आशीष दिन्छन् ।…मभने यता घर हेर्छु, भाइको परिवार हेर्छु, दिदीबहिनीहरूका परिवार हेर्छु । बाबाआमा बिनाको यो घरको अवस्था हेर्छु, बाबाआमा बिनाको माइतीघर कस्तो लाग्दो हो दिदीबहिनीहरूलाई भनेर सोध्न सक्दिन पक्कै नै । मभने नेपालभन्दा धेरै पर, संसारको अर्को कुना बेलायतमा हुनेछु ।

के रहेछ त जीवन ? हामीहरू जीवनभर दौडधुप गर्दछौँ, अरुभन्दा राम्रो, असल अनि सफल देखिनको निम्ति लागिपर्दछौँ । अहिलेसम्म कत्तिका मानिसहरूको दिल दुखाइयो होला ? कत्तिलाई पछारियो होला अगाडि बढ्नको लागि ? उहाँहरूलाई म त्यो मामिलामा अछुतो हुनुहुन्थ्यो भनेर भन्दिन । कोही हुँदैनन् । म छैन । तर के रहेछ त जीवन वास्तवमा ? आफ्ना रहरहरूका चाङहरूलाई मेरा बुबामुमाहरूले कति सम्हालेर राखे होलान्, तीमध्ये कति पूरा भए होलान् ? तर आखिरमा खाली अनि रित्तो हात जानु भयो । ती सपना तथा रहरहरूलाई पूरा गर्ने ध्याउन्नामा खर्चेका उहाँहरूको प्रयासहरूका दागहरू घरका भित्ताभरि जताततै यथावत रहेका छन् । नातिनीले आफूलाई र अरुलाई सम्झनको लागि सजिलो रहोस् भनेर पानामा लेखेर छोडेकी बुबामुमाले नियतिम रुपमा समय समयमा खाने औषधिका नामसहित दर तथा समयहरूका फेहरिस्तहरूसहित बुबा र मुमाले नियमित रुपमा खाने औषधिहरू पनि त दुरुस्तै रहेछन् । उहाँहरू मात्र हुनुहुन्न ।

‘…बत्ती बालेरै सुत्नू …।’ अब सोँच्दैछु, आखिर किन होला ? आफ्नो परिवारको प्रशस्तै चिन्ता गर्ने उहाँहरू कति टुप्लुक्क निस्कनुहुन्छ कि घरमा ? ‘…प्रकाश, तँलाई कस्तो छ ?..’ भनेर अगाडि उभिएर सोध्नुहुन्छ कि ? डरलाग्दो नमान्नु पर्ने भए पनि डरलाग्दो परिकल्पना रे, त्यही भएर पण्डितले किरिया बस्ने कोठाको ढोकामा एक सरो धागो बाँधिदिएका छन् । भित्तामा टाँगिएका तस्बिरलाई हेरेको थिएँ, अहिले त्यही तस्बिरले नै एकोहोरो मलाई हेरिरहेको झैं लाग्दछ । म त्यसपछि अनुहार छोपेर सुत्ने तरखर गर्छु, बाहिर पर कतै कुकुरहरू एकोहोरो भुक्न थाल्दछन् ।

हाल : पोखरा

प्रतिक्रिया