‘कर्के नजर’ले किन काट्यो केक ?

‘कर्के नजर’ले किन काट्यो केक ?


  • राजन घिमिरे, अष्ट्रेलिया

प्रवासमा बसेर पनि नेपाली गीत–संगीत क्षेत्रमा लागिपरेका गायक हुन् संजीव पराजुली, अनि स्वदेशमा रहेर गायन क्षेत्रमा लागिपरेकी गायिका हुन् टीका प्रसाई । आफ्नै सभ्य र शालिन शैली बोकेर गायन क्षेत्रमा होमिँदै श्रोताहरूको मन जितिरहेको यो जोडीको पछिल्लो गीत कर्के नजरलाई श्रोता र दर्शकहरूले यूट्यूबमा अत्याधिक मन पराएका छन् ।

पछिल्लोपटक कर्के नजरलाई यसरी मन पराइएको छ कि यो गीतलाई यूट्यूबमा हेर्ने दर्शकहरूको संख्या करिव एक करोड बीस लाख पुगेको छ । यो खुशी यस गीतका सर्जकहरूले सिड्नीमा केक काटेर मनाएका छन् ।

बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले प्रस्तुत गरेको कर्के नजरको सफलताको केक सिड्नीमा रहेको बाबा एजुकेशनकै कार्यालयमा काटिएको थियो । यसअघि पनि संजिव र टीकाले गाएको ‘नाई मलाई थाहा छैन…’ बोलको चर्चित गीतलाई पनि बाबाले नै प्रस्तुत गरेको थियो ।

गायक संजिव पराजुली लामो समयदेखि सिड्नीमा नै बस्दै आएका सर्जक हुन् भने यही समयमा नेपालबाट सांगीतिक कार्यक्रम प्रस्तुत गर्न गायिका टीका सिड्नी आइपुगेकी थिइन । ‘दुवै गायक–गायिकाको सिड्नीमा संयोगवश भेट हुनु र गीतले पनि एक करोड १० लाख भ्यूज पाएको सन्दर्भ मिलेकोले हामीले यो खुशी साटेका हौँ’, बाबा एजुकेसनका रविन्द्रकुमार शर्माले जानकारी दिए ।

प्रवासमा आफ्नो गीतले सफलता हात पारेको खुशी साट्न पाएकोमा गायक संजीव पराजुली र गायिका टीका प्रसाईं कम दङ्ग छैनन् । उनीहरू भन्दै थिए– ‘गीत–संगीतले के देश के परदेश ? सबै श्रोता र दर्शकहरू जस्तै हामी सर्जकहरूलाई पनि जोडेको छ ।’