पाँच वर्षपछि गाउँ उज्यालो

पाँच वर्षपछि गाउँ उज्यालो


हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् ।

हिल्दुम वितरण केन्द्रले विसं २०७० मा टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापरवाहीका कारण त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।

टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो किस्ता रु एक लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् ।

हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए । टुलिङ्ग गाउँका ३१ घरधूरीले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उहाँले जानकारी दिए ।

ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा बालबालिकालाई रातिको समयमा अध्ययन गर्न सहज हुने भएको वीरबहादुर शाहीले जानकारी दिए ।