नेपालको पर्यटन क्षेत्र : खर्च ६२ अर्ब आम्दानी ४७ अर्ब

नेपालको पर्यटन क्षेत्र : खर्च ६२ अर्ब आम्दानी ४७ अर्ब


–छविलाल बगाले
मुलुकले पर्यटनलाई प्रमुख आयस्रोत मानेको छ । तर, खर्च अनुसार प्रतिफल छैन । प्रत्येक बर्ष पर्यटन क्षेत्रमा हुने आम्दानी खर्चको तुलनामा निकै कम छ । चालु आर्थिक वर्षमै यो क्षेत्रमा खर्चको तुलनामा १५ अर्ब कम आम्दानी भएको छ ।

सम्भावना बोकेको पर्यटन क्षेत्रबाट मुलुकले लाभ लिन नसकेको एक तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०७४/७५ मा पर्यटन शिर्षकमा गरिएको खर्च र आम्दानीबिच १३ खर्बको खाडल छ । नेपालीले विदेश जाँदा ८० अर्ब खर्च गर्दा मुलुकको पर्यटन क्षेत्रमा ६७ अर्ब मात्रै विदेशी मुद्रा आर्जन भएको थियो ।

पर्यटन आय मुलुकको शोधानान्तरको प्रमुख अंग पनि हो । विगतदेखि नै नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा पर्यटन क्षेत्रको आम्दानी रहँदै आएको छ । तर विगत केही बर्षयता आयको तुलनामा ब्यय बढि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ८ महिनामा विदेश भ्रमणमा नेपालीले ६२ अर्ब खर्च गर्दा पर्यटन क्षेत्रबाट हुने आम्दानी भने ४७ अर्बमा खुम्चिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाको भनाई छ । उनका अनुसार भ्रमण खर्चमध्ये शिक्षामा हुने खर्च गत आर्थिक बर्षमा ३८ अर्ब थियो भने चालु आर्थिक बर्षको ८ महिनामा ३२ अर्बमा झरेको छ ।

खर्चको तुलनामा आम्दानी कम भएकोप्रति पर्यटन ब्यवसायीहरु चिन्तित छन् । सन् २०१७ मा पर्यटन क्षेत्रबाट १ सय ७७ अर्ब रकम भित्रिएको दावी पर्यटन व्यवसायीको छ ।

अघिल्लो आर्थिक बर्षको आर्थिक सर्वेक्षणलाई आधार मान्दा औपचारिक र अनौपचारिक क्षेत्रमा विदेश गएका नेपालीको संख्या ४३ लाख छ । गत आर्थिक बर्षमा यो जनशक्तिले पठाएको विप्रेषण ७ सय ५५ अर्ब थियो । जुन जिडिपीको २५ प्रतिशत हो ।

सरकारले २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी गरिहँदा पर्यटन क्षेत्रको प्रतिफल भने नकरात्मक दिशातर्फ उन्मुख भइरहेको छ ।