रातो मछिन्द्रनाथको महास्नान सम्पन्न

रातो मछिन्द्रनाथको महास्नान सम्पन्न


रातो मछिन्द्रनाथको जात्राको शुरु दिन आज महास्नान सम्पन्न भएको छ ।

गत वर्षहरुमा जस्तै शनिबार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरिएको हो । महास्नान भन्नाले मछिन्द्रनाथको मृत्यु संस्कार भएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । मछिन्द्रबहालमा रहेका देवताको शव मछिन्द्रनाथको आमा बसेको ठाउँ(हालको लगनखेल बसपार्क) लगिएको थियो ।

छोराको मृत्युले शोकमग्न भएकी आमालाई हिरण्यवर्ण महाविहारका गुरुजुहरुले सम्झाउने गरेका छन् । ‘गुरुजुहरुले तपाईको छोरा मरेको छैन, १५ दिनमा फर्किएर आउँछन् भनेर सम्झाउँछन्’, उनले भने, ‘उहाँहरुले भनेजस्तै वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण हुन्छ ।’

महास्नानपछि नै पाटनमा जात्राको रौनक शुरु हुने गरेको छ । महास्नानपछि रातो मछिन्द्रनाथको दश कर्म शुरु हुने ज्योतिष दैवज्ञ जोशीले बताए । उनले भने, ‘महिला र पुरुष दुवैका रुपमा मछिन्द्रनाथको दश कर्म हुने गरेको छ ।’

पहिले दश कर्म सम्पन्न भएपछि रथयात्रा हुँदै जावलाखेल पुगेपछि भोटो देखाउने गरिन्छ । ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता हुँदै आएको छ । मछिन्द्रनाथ लिन भारतको कामरुकामक्ष जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेव सँगसँगैै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएका हुन् ।

यी तीनै जनाको सम्झनामा रथ यात्रा हुने गर्छ । त्रिलोक यात्रा भनिने मछिन्द्रनाथको रथयात्रामा पुल्चोकबाट गाबहालसम्म गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडाँै बासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।