भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथि यौन दुर्व्यवहारको आरोप


भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उहाँकै एक जना पूर्व सहयोगी (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

प्रधानन्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भनी आरोपको खण्डन गरेका छन् ।

पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ वर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गत बर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन् ।

यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहको र यसको पछाडी कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालीकाको स्वतन्त्रता खतरामा रहेको बताएका एएफपीले जनाएको छ । उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने अनुमान गरेका छन् ।

यस्तो अवस्थामा काम गर्नु पऱ्यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् भन्दै उनले आफ्नो प्रतिरक्षा गर्न खोजेका छन् । प्रधानन्यायाधीश गगोइले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको आरोप समेत लगाएका छन् । उनले भनेका छन्– ‘उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्यो ? जबकि उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।’

पीडित भनिएकी महिलाले चाहिँ गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन् ।

महिलाले भनेकी छन्, ‘उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो र शरिरका सबै अङ्गमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो । उहाँले मलाई पनि उहाँको शरिरमा अँगालो हाल्न भनेको र उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो । यो यौन दुर्व्यवहारको प्रयास थियो ।’

प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाई भएको छ । शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई हुने बताएको छ ।