काबुलमा आक्रमण गर्ने समूहका सबै मारिएको दाबी

काबुलमा आक्रमण गर्ने समूहका सबै मारिएको दाबी


काबुलको एक सरकारी कार्यालय परिसरमा विस्फोट गराउने समूहका सबैजना सुरक्षा कारबाहीमा मारिएका अफगानी अधिकारीले बताएका छन् । शनिबार विहान एक जना आत्मघाती आक्रमणकारीले सूचना मन्त्रालयको पर्खालमा विष्फोट गरेपछि शुरू भएको सुरक्षा कारबाही करिब ६ घण्टासम्म चलेको थियो ।

घटनामा सानो समूहमा रहेका आतङ्ककारी विद्रोहीको सम्लग्नता रहेको र ती सशस्त्र व्यक्तिहरूमध्ये केही मन्त्रालयको भवनमा पस्न सफल भएको, एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको एएफपीले जनाएको छ ।

भवनभित्र छिरेका बन्दूकधारीबाट हुनसक्ने सुरक्षा खतरालाई लिएर प्रहरीले भवनमा रहेका करिब दुई हजार व्यक्तिलाई सकुशल उद्धार गरेको बताइएको छ ।

गृह मन्त्रालयले ट्वीटरमार्फत जारी एक विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र आतङ्ककारीविरूद्धको सुरक्षा कारबाही सकिएको छ । सवैजना आत्मघाती वम आक्रमणकारी र वन्दूकधारी मारिएका छन् । सुरक्षाकर्मीले भवनभित्र रहेका दुई हजारभन्दा बढी सर्वसाधारणलाई सकुशल उद्धार गरेको छ ।’