देशमा विकृति ब्याप्त भएको देउवाको दाबी !

देशमा विकृति ब्याप्त भएको देउवाको दाबी !


नेपाली कङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्ष निराशाजनक भएको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ सार्दीखोलामा निर्मित बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै उनले सरकार गठनको एक वर्ष देशमा महङ्गी भ्रष्टाचार, अशान्ति र अराजकता बढेको आरोप लगाए ।

सभापति देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानविन हुनुपर्ने बताउँदै सरकारी जग्गा किनबेच गर्नेलाई काङ्ग्रेसले नछोड्ने चेतावनी दिए । ‘बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु, यो कसैले किन्न बेच्न मिल्ने जग्गा होइन’ उनले भने, ‘गल्ती कहाँबाट भएको छ छानविन हुनुपर्छ, गल्ती गर्नेलाई काङ्ग्रेसले छोड्दैन ।’ सरकारको मनोमानी, संवैधानिक निकायमाथिको नियन्त्रण, प्रेसमाथिको नियन्त्रण लगायतका विरुद्धमा लाग्नुपर्ने धारणा राख्दै उहाँले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले काङ्ग्रेस एकताबद्ध बन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले बढ्दो महङ्गी, अराजकता आदिका कारण नेपाली जनता आक्रान्त बनेको बताउँदै नेपाली जनताका हरेक समस्या समाधानमा काङ्ग्रेसले सधैं हातेमालो गर्दै आएको धारणा राखे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, महिला नेत्री टेकनशोभा गुरुङ, गणेश आचार्य, माधव आचार्यलगायतले आ–आफ्ना धारणा राखेका थिए । काङ्ग्रेसको वडा एकाइ कार्यालयको भवन बनाउनेमा सार्दीखोला वडा एकाइ नेपालमा नै पहिलो बनेको छ । करीब रु ९० लाखको लागतमा भवन निर्माण भएको वडा सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।