भारतको सहयोगमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण

पुनर्निर्माणमा मित्रराष्ट्र भारतको सहयोग





भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ । गुरु स्याल्पा तेन्जिङ रिम्पोछेले शुक्रबार (वैशाख ६, २०७६) उक्त भवनको उद्घाटन गरेका छन् ।

पुनर्निर्मित गुम्बाको उद्घाटन समारोहमा नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले विशेष अतिथिका रुपमा सहभागिता जनाएका थिए ।

गुम्बा पुनर्निर्माणका अतिरिक्त १ करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण भएको दूतावासले जनाएको छ । वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवम् गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौतारा (सिन्धुपाल्चोक)ले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

लिसंखु गाउँवासीको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ्योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहँदै आएको छ । उक्त गुम्बा एक महत्वपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसहरुको सामाजिक–साँस्कृतिक जीवनको अभिन्न पाटो पनि रहेको सम्बद्ध पक्षले जनाएको छ ।

प्रतिक्रिया