आमा समूहको सक्रियतामा जाँडरक्सी विक्री–वितरणमा प्रतिबन्ध

आमा समूहको सक्रियतामा जाँडरक्सी विक्री–वितरणमा प्रतिबन्ध


आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए ।

जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ । आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन् ।

मदिरा सेवनले पुऱ्याउने हानिनोक्सानीबारे आमा समूहले जनचेतना फैलाउन थालेपछि तीनजनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन् । गाउँका तीनजनाले अनुमति लिई मदिरा–वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो । बजारमा पसल सञ्चालन गरी मदिरा बिक्री–वितरण गर्ने अनुमति लिएका उनीहरूले गाउँबस्तीमा गई पसल सञ्चालन गरेका थिए । वडा नं ११ का वडा अध्यक्ष मो. जीबरिलका अनुसार वडा कार्यालयबाट बजारमा पसल खोल्न सिफारिस लगेकोमा उनीहरूले सिफारिसविपरीत गाउँमा मदिरा बिक्री–वितरण गरेपछि आमा समूहको सक्रियतामा पसल बन्द गराइएको हो । अनुमति लिनेमध्ये दुईजनाले मदिरा पसल बन्द गरेको र सियाकुमारी चौधरीले गाउँबाट हटाई बजारमा पसल सञ्चालन गर्ने भनी कागज बनाई सहीछाप गरेपछि छाडिएको छ ।

सिफारिसविपरीत गाउँमै मदिरा बिक्री गरेमा प्रमाणपत्र रद्द गरी कानुनबमोजिम कारबाही गरिने वडाध्यक्ष जिबरिलले चेतावनीसमेत दिए । दुईजनाले पसल बन्द गरे पनि पसल बन्द गर्न अटेर गर्ने सियाकुमारीविरुद्ध आमा समूहले वडा कार्यालय र इलाका प्रहरी कार्यालय ठेलियामा निवेदन नै दर्ता गरेका थिए । वडा कार्यालयमा वडाध्यक्षको उपस्थितिमा बिहीबार अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछि सियाकुमारीले गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति जनाएकी थिइन् ।

आमा समूह र प्रहरीले पटकपटक सम्झाउँदा अन्य दुईजनाले मदिरा पसल बन्द गरे पनि सियाकुमारीले नमानेपछि वडा कार्यालयमा छलफल गरी कागज गराइएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताए । आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरूप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ । मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गरे ।

पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृंखल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन् । आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी कारबाही गरेपछि धेरै सुध्रिएको प्रहरीले जनाएको छ ।