टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने

टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने


जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।

टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरू प्रमुख कार निर्माता कम्पनीहरूले पनि चालकविहीन कार निर्माणलाई तीव्रता दिएका छन् । ‘पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज समूहमा हुनेछ । यस समूहले स्वचालित र चालकविहीन कार निर्माणको आधार तयार गर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपुर्जा निर्माता डेन्सोसहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबेरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ ।

उबेरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकविहीन कारले यातायात क्षेत्रलाई रूपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरू बढी सुरक्षित र शहरहरू बस्न योग्य हुने दाबी गरे । गत साता उबेरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ । उबेरले आयोगसमक्ष बुझाएको कागजातमा ६ वटा महादेशमा झन्डै प्रतिदिन एक करोड ४० लाखपटक उबेरका सवारीसाधन प्रयोग हुने र सन् २०१० यता मात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ ।