घाट लगिएको महिलाको शव प्रहरी नियन्त्रणमा, मलामी फरार

घाट लगिएको महिलाको शव प्रहरी नियन्त्रणमा, मलामी फरार


वीरगञ्जमा जलाउन लैजाँदै गरेको अवस्थामा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका– २३ प्रसौनीबिर्ताबाट प्रहरीले अञ्जुदेवी दासको शव नियन्त्रणमा लिएको हो ।

अन्दाजी २९ वर्षीया मृतक अञ्जुदेवी पन्नालाल दासकी श्रीमती हुन् । उनको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ भने मृतकका श्रीमान पन्नालाल फरार छन् । उनीहरूले मृतक अञ्जुदेवीको शव जलाउन भारततर्फ लैजान खोजेका थिए, तर एम्बुलेन्सका चालकले नमानेपछि स्थानीय सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अञ्जुको मृत्यु कालगतिले भएको हो वा अन्य कारणले भन्ने अनुसन्धानपछि मात्र थाहा हुनेछ । शव नियन्त्रणमा लिएपछि मलामी भागेकाले अहिले नै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी पुग्नेबित्तिकै शव छोडेर मलामी भागेकाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।