भिटामिन ए र जुकाको औषधि खुवाउँदै

भिटामिन ए र जुकाको औषधि खुवाउँदै


सरकारले आज (शुक्रबार) र भोलि (शनिबार) जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै छ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । संघीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीले जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका करिब २७ लाख ६८ हजार ५४० बालबालिकालाई भिटामिन ए र जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका २३ लाख ५६ हजार ८४३ बालबालिकालाई जुकाको औषधि र ती बालबालिकाको पोषणस्थित जानकारीका लागि पाखुराको नाप लिइने कार्यक्रम रहेको बताए ।

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम ४१ जिल्ला र ५६ जिल्ला पाखुराको नाप लिने कार्यक्रम सञ्चालन हुनेछ । ती जिल्लामा ती कार्यका लागि करिब ३६ हजार बुथमा महिला स्वयंसेविका र स्वास्थ्यकर्मी गरी करिब ६० हजार जनशक्ति परिचालन हुनेछन् ।

भिटामिन ‘ए’को कमीले बालबालिकामा रतन्धो, दादुरा, झाडापखाला, कडा कुपोषण तथा छालाको रोग हुन सक्छ । यसबाट जोगाउन भिटामिन ‘ए’ कार्यक्रमले सहयोग गरेको उनले जानकारी दिए ।

शारीरिक विकास र रोगप्रतिरोध क्षमतालाई बढाउन भिटामिन ‘ए’ले सहयोग पु¥याउँछ । बालबालिकामा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न र उनीहरूलाई कुपोषण हुनबाट जोगाउन पाखुराको नाप लिई पोषणका बालभिटासमेत वितरण गर्दै आएको छ । सरकारले हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।