सरकारविरुद्ध आन्दोलनको तयारी गर्न नेविसंघलाई देउवाको निर्देशन

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न नेविसंघलाई देउवाको निर्देशन


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले राम्रो काम गर्न नसकेको बताएका छन् ।

उनले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पार्टीमा आबद्ध नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन् ।

शुक्रबार राजधानीमा नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा देउवाले बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको सट्टा बचाउ गर्ने, दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेकोले त्यसको भण्डाफोर गर्न निर्देशन दिए ।

नेविसंघको नेतृत्वको चयनमा कसैप्रति अन्याय नगर्ने भन्दै उनले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन चाँडै गरिने आश्वासन पनि दिए । नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने–नगर्ने निर्णय नेविसंघकै नेताहरूको परामर्शको आधारमा लिइने उनको भनाइ छ ।