‘युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ’

‘युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ’


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताए ।

निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।’

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गरे ।

कमलाघाटमा शवदाह निर्माण गरिँदै

शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् । नगरपालिका–४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिए ।

सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उनले भने, ‘निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।’

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिए ।