आइजीआई विद्यार्थी बीमालेखमार्फत सेवा आदानप्रदान सम्झौता

आइजीआई विद्यार्थी बीमालेखमार्फत सेवा आदानप्रदान सम्झौता


आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच आइजीआई विद्यार्थी बीमालेख (IGI Student Policy) मार्फत सेवा लिने–दिनेसम्बन्धी सम्झौता भएको छ । यो पोलिसी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थाका सदस्य विद्यार्थीहरुको लागि नेपालमा नै पहिलो पटक जारी गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका उक्त सम्झौतापत्रमा सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई बीमा सेवा प्रदान गर्ने प्रावधान उल्लेख गरिएको जनाइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रमका अवसरमा इन्स्योरेन्सका सिईओ श्रेष्ठले सहकारी संस्था आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना विद्यार्थी ग्राहकहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्कका साथै विद्यार्थीका आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेखमार्फत सेवा प्रदान गर्न इच्छुक भई सम्झौता गरेकामा सम्बन्धित सहकारी संस्थाका अध्यक्षलगायतलाई धन्यवाद दिए । उनले संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

कार्यक्रममा भरपर्दो कृषक सहकारी संस्था लि.का अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीलाई निःशुल्क यो सेवा प्रदान गर्न पांउँदा खुशी लागेको र आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफ्ना ग्राहकहरुलाई निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यवाद दिए ।