‘खेलकूदको विकासका लागि विशेष पहल आवश्यक’ : राष्ट्रपति

‘खेलकूदको विकासका लागि विशेष पहल आवश्यक’ : राष्ट्रपति


खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीले अघिसारेकी छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको बिहीबार नेपालगञ्ज रङ्गशालामा उद्घाटन गर्दै उनले सुविधासम्पन्न खेलकूदका पूर्वाधार विकास र विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

‘सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार पार्न खेलकूद क्षेत्रले मद्दत पुऱ्याउँछ भन्ने महसुस गरेको छु’, राष्ट्रपति भण्डारीले भनिन्, ‘यसबाट नागरिकको स्वास्थ्य तथा खेल पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’ खेलकूद प्रतियोगिता निर्धा्रित मितिमै आयोजना भएकामा खुशी व्यक्त गर्दै उनले केही वर्षदेखि नेपाली खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकूद प्रतियोगितामा हासिल गरेका उपलब्धि उत्साहप्रद रहेको उल्लेख गरिन् ।

‘राज्यले आफ्नो सीमित स्रोतसाधनका बाबजुद खेलकूदको विकासमा गरेको लगानीका कारण नेपाली खेलाडीमा प्रेरणा प्राप्त हुँदै प्रतिस्पर्धात्मक क्षमता बढेको महसुस गरेको छु’, राष्ट्रपति भण्डारीले भनिन्, ‘खेलाडीको वृत्तिविकासमा यथोचित ध्यान पुऱ्याउँदै खेलाडीको साथमा सधैँ राज्य छ भन्ने भावना अझ जागृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सधैँ राष्ट्रिय झण्डा फहराएर देशको गौरव उँचो पार्न सक्षम खेलाडीले शिक्षा आर्जनमा समेत ध्यान पुऱ्याउनुपर्ने उल्लेख गर्दै उनले खेलकूदको जगका रुपमा रहेको विद्यालय तहदेखि नै खेलकूदमा विद्यार्थीको सहभागिता बढाएर देशलाई अन्तराष्ट्रिय जगतमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिइन् । ‘खेल क्षेत्रका नीति निर्माता र व्यवस्थापक खेलकूदको विकासमा केन्द्रित बन्नुपर्दछ’, उनले भनिन् । ठूलो लगानीसहित नेपालगञ्जले राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने दोस्रो पटक अवसर पाएकाले यस क्षेत्रमा खेलकूदको पूर्वाधार विकास गर्न मद्दत पुगेको राष्ट्रपति भण्डारीले बताइन् ।

खेलकूद प्रवद्र्धन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारीलाई राष्ट्रपति भण्डारीले धन्यवाद र खेलाडीलाई शुभकामनासमेत व्यक्त गरिन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोहलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिता सफलताको कामना गरेका थिए ।