मनीषाले भनिन्, ‘सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट’

मनीषाले भनिन्, ‘सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट’


बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताएकी छिन् । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् ।

क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको बताइन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नायिका कोइराला पदयात्रामा गएकी थिइन् । उनले एभरेष्ट बेस क्याम्पको वृत्तचित्रसमेत निर्माण गर्ने जानकारी दिइन् ।

उक्त वृत्तचित्रले बेस क्याम्पको सुन्दरता विश्वभर पुग्ने र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । नायिका कोइरालाले बेस क्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नुपर्ने खाँचो औँल्याइन् ।

नेपालको हिमाल बुझ्न चाहने विश्वका सबैलाई सो बृत्तचित्रले सहयोग पुग्ने बताउँदै केही समयभित्रै सार्वजनिक हुने उनले जानकारी दिइन् । उनले बेसक्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नु पर्ने देखिएको बताइन् । हिमाल देखाउने शेर्पाहरुलाई बिरामी परेमा उपचार गर्ने राम्रो ठाउँ नभएको र उनीहरुका छोराछोरीलाई अध्ययनका लागि राम्रो विद्यालयसमेत नभएकाले त्यसमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनको यात्रामा सबैभन्दा बढी विदेशी नागरिकहरु बेसक्याम्प क्षेत्रमा भेटिएको बताउँदै नेपालीहरुलाई पनि त्यहाँ घुम्न जान अनुरोध गरिन् ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘सेलीब्रेटी’को एभरेष्ट वेसक्याम्प पदयात्राले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाइरहेका बेला उनको भ्रमणले थप सहयोग पुग्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशीले बताए ।