‘दीन’हरूका बन्धु अर्थात् दीनबन्धु

आजभन्दा ७० वर्षअघि भद्रपुरमा जन्मिएका उनी केही वर्षदेखि विराटनगरमा रहेर उद्योग–व्यवसायमा कर्मरत् छन् । जुगलकिशोर र नारायणीदेवी गोयलका ४ दाजु–भाइमध्ये (दाजु महावीर र ओमप्रकाश र भाइ राजकुमार) साइँला छोरा उनले २०२२ सालमा भद्रपुर हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेर ०२६ सालमा भारत, दार्जिलिङस्थित गभर्मेन्ट कलेजबाट बीएस्सी गरेपछि व्यापार–उद्योगको सिलसिलामा विराटनगरमा दाजु महावीरप्रसाद गोयलका साथमा कारोबार शुरु गरे । व्यापारिक घरानाका उनले पारिवारिक सहकार्यमा किराना पसलबाट शुरु गरेको व्यवसायले समयक्रममा उद्योग क्षेत्रमा छलाङ लगाउँदै साबुन, बिस्कुट, मैनबत्ती, पोलिथिन, कोरोगेटेड कार्टुन हुँदै टेक्सटायल, आइरन, गार्मेन्ट, पेट्रोलियम र सिमेन्ट उद्योगसम्मको सफल यात्रा तय गरेको छ । हाल उद्योग–व्यवसायमा परोक्ष मात्र संलग्न रहेका उनी केही वर्षयता भने खुलेर सामाजिक सेवा र धार्मिक गतिविधिमा लागेका छन् । कर्मशील व्यक्तित्वको छवि बनाएका सहयोगी मनका पनि धनी उनै दीनबन्धु गोयलसँग उनको भद्रपुरमा गरिएको कुराकानीको सारसङ्क्षेप :

० हाल के गर्दै हुनुहुन्छ ?
– केही वर्षदेखि भाइ, छोरा–भतिजाहरूले उद्योग–व्यवसाय सम्हालिरहेको हुनाले विभिन्न सामाजिक सेवा र धार्मिक कार्यहरूमा लाग्न पाएको छु । मेरो रुचिको क्षेत्र भएकाले पनि केही वर्षयता विभिन्न सामाजिक सेवामूलक संस्था र धार्मिक संस्थाहरूमा आबद्ध रहेर काम गरिरहेको छु ।

० कुन–कुन संस्थामा रहेर के–के काम गरिरहनुभएको छ त ?
– म थुप्रै सङ्घ–संस्थामा रहेको छु । त्यसमध्ये मुख्यतः नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, रेडक्रस भद्रपुर उपशाखाको यशस्कर सदस्य, शारदा आधारभूत विद्यालय भद्रपुर–६ को सल्लाहकार, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम–भद्रपुरको अक्षयकोषको संस्थापनकालदेखि संरक्षक एवम् व्यवस्थापन सदस्य, विराट–भरत विश्रान्ति–विराटपोखरा, बिर्तामोडको आजीवन सदस्य; गिरिजाप्रसाद कोइराला फाउन्डेसन, पूर्वाञ्चल बाल सेवा आश्रम, गुरुकुल विद्याश्रम–जतुवा, नेपाल राष्ट्रिय मारवाडी परिषद्, सत्यनारायण मन्दिर–विराटनगरको संरक्षकमण्डल सदस्यका साथै आमाको माया छात्रावास, चेतना संरक्षण प्रतिष्ठानको संरक्षक, पशुपति शिक्षा मन्दिर–कटहरीको अध्यक्ष, हनुमान मन्दिर ट्रस्ट–दमकको उपाध्यक्ष, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र क्षयरोग निवारण केन्द्रको आजीवन र यशस्कर विशिष्ट सदस्य, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद् तथा एलिट क्लबलगायतका थुप्रै सङ्घ–संस्थाहरूमा रहेको छु ।

यी संस्थामा आबद्ध भएर मैले असहाय, गरिब, बेवारिसे र दीनदुःखीहरूलाई सेवा गर्दै छु । यसबाहेक दाजु स्व. ओम गोयलको स्मृतिमा भद्रपुरका पाँचवटा सरकारी विद्यालयमा अध्ययनरत बालबालिकालाई विगत ९ वर्षदेखि छात्रवृत्ति तथा हाल आएर अक्षयकोषको स्थापनासँगै स्कुले पोसाक वितरण, चन्द्रगढीको वृद्धाश्रममा पार्क निर्माण र जस्तापातालगायतका सामग्री, चन्द्रगढीकै विश्रान्ति आश्रम निर्माणार्थ पाँच लाख रुपैयाँ सहयोग, गुरुकुल भद्रपुरमा पूजाअर्चनाका लागि अक्षयकोष स्थापना, सतार जाति बहुल गाउँमा कम्बल वितरणसँगै हिन्दू सनातन धर्मअनुसार सामूहिक विवाह र लुगा तथा भाँडावर्तन वितरण, भद्रपुर देउनियाघाटमा पक्की चितास्थल निर्माण, मेची अञ्चल अस्पतालको आकस्मिक कक्ष जीर्णोद्धार, झापा मारवाडी समाज–काठमाडौंमा छात्रवृत्ति कोषको स्थापना, स्टार सहकारीमार्फत वर्षेनी १५ जना विद्यार्थीलाई छात्रवृत्ति, मोरङका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर र वृद्ध–वृद्धाहरूलाई कम्बल वितरण, बयरवन मोरङका विद्यार्थीलाई स्कुले ब्याग वितरण तथा रमाइलोमा खानेपानी ट्याङ्की निर्माण, ०७३ सालमा झुम्का कारागारमा खेलकुद सामग्री वितरण, हाँसपोसा–सुनसरीमा शहीद स्मृति आवासीय विद्यालयलाई ५ थान कम्प्युटर, ओख्रे–तेह्रथुमका ७ वटा विद्यालयका २५७ जना विद्यार्थीलाई स्कुले पोसाक, पूर्वाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर सर्वोत्कृष्ट हुने विद्यार्थीलाई स्वर्ण पदक दिन अक्षयकोषको स्थापना, मकवानपुरका १२० चेपाङ परिवारलाई १ महिनाको रासन, विश्रान्ति मन्दिर–मूलघाट धनकुटामा खाद्यान्न सहयोगार्थ आफ्नो परिवारका १४ जना सदस्यको नामबाट ५ वर्षको एकमुष्ट रकम, महिला उद्यमी सङ्घ–गौरादहलाई पाँच थान सिलाइ मेसिन, शनिश्चरे मोरङमा १२ जना महिलालाई आय आर्जनका निमित्त १२ थान सिलाइ मेसिन, विराटेश्वर वृद्धाश्रममा कोठा निर्माण, जनजाति कल्याण छात्रावासलाई आर्थिक सहयोगलगायत थुप्रै धार्मिक प्रतिष्ठानहरूलाई समेत नगद, जिन्सी र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग पुऱ्याउन पाउँदा आफूलाई धन्य सम्झेको छु ।

त्यसैगरी, आदरणीय दाजुहरू महावीरप्रसाद र स्व. ओमप्रकाशको स्मृतिमा हाम्रा गुरु भद्रपुर हाइस्कुलका आर.के. मुखिया (दार्जिलिङ) सरको सम्मानमा हाल ११ मा अध्यययनरत उहाँकी नातिनी नेहा सुनुवारलाई उनले नाम निकालेमा एमबीबीएस तहसम्म अध्ययन गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छौँ ।

० यसरी समाजसेवामा लाग्न तपाईंलाई के कुराले प्रेरणा दियो ? केही कारण छ कि ?
– हो । मलाई यसरी समाजसेवाको क्षेत्रमा निरन्तर लागिपर्न भद्रपुरनिवासी पर्शुराम अग्रवाल (साहेवाला)बाट प्रेरणा मिलेको हो । करिब ११ वर्षअघि मेरी श्रीमतीको ब्रेन हेमरेज भएको घटनाले आहत मेरो मनलाई समाजका लागि केही न केही गर्न घचघचाइरहेको अवस्थामा भद्रपुरलगायतका क्षेत्रमा आफैँ समाजसेवामा अग्रसर रहनुभएका पर्शुराम अग्रवालजीको पथ अनुशरण गर्ने निर्णयमा म पुगेँ । मलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिने व्यक्ति उहाँ नै हुनुहुन्छ ।

० समाजसेवा एवम् धार्मिक प्रतिष्ठानहरूप्रति तपाईंको यति लामो लगावको यात्रामा तपाईंले के पाउनुभयो ?
– भन्नैपर्ने हुन्छ, म आफूले सहयोग गरेबापत केही प्रतिदान पाउने लालसाले यस क्षेत्रमा लागेकै होइन । सबैभन्दा ठूलो कुरा त, मैले आत्मसन्तुष्टि पाएको छु । मानवको सेवा गर्नु नै ठूलो धर्म हो भन्ने महसूस गरेको छु । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य रहेछ भनेर मलाई आत्मबोध भएको छ । मलाई चारधाम तीर्थाटन गरेसरह भएको छ । सहयोगापेक्षु मानव र संस्थालाई सहयोग गर्न पाउँदा अपार सन्तुष्टि पाएको छु । मैले मानवजीवनको सार्थकता यसैमा भेटेको छु । रह्यो, राष्ट्र र समाजले पहिचान दिने कुरा । त्यसमा मलाई राष्ट्रपतिबाट ‘जनसेवाश्री पदक–२०७४’ लगायत हालसम्म विभिन्न स्थानका करिब सयभन्दा बढी सङ्घ–संस्थाहरूबाट सम्मान र कदरपत्र प्राप्त भएको छ ।

० अब भविष्यको लक्ष्य थप केही छ कि ?
– मेरो सम्पूर्ण लक्ष्य भनेकै समाजसेवा हो । देशका विभिन्न ठाउँका दीनदुःखी, असहाय र परोपकारमुखी सङ्घ–संस्थाहरूलाई सहयोग गर्दै जाऊँ, मलाई यस कार्यमा अघि बढिरहन मेरा परिवारका अग्रज र अनुजहरूबाट सदा साथ मिलिरहोस् अनि मैले आफ्नो गच्छेअनुसार निरन्तर सहयोग सेवा गरिरहन पाऊँ– यही नै मेरो कामना छ र लक्ष्य पनि यही हो ।

प्रस्तुति : राजेश ढुङ्गाना/राजबाबु शंकर

प्रतिक्रिया