पोर्चुगल बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

पोर्चुगल बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु


पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरूले सडकको छेउमा बस पल्टिएका दृश्यहरू देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खबर आएको ट्विट गरेका छन् ।

उनले घटनामा परी मृत्यु भएकाको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मृत्यु भएकामध्ये १७ महिला र ११ पुरुष रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनामा परी अरू २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेकबा छन् । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितको साथमा आफू रहेको बताएका छन् । उनले आफू घटनास्थलमा पनि पुग्ने जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्विट गर्दै जर्मन चान्सलर एञ्जेला मर्केलप्रति सहानुभूति व्यक्त गरेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।